किम्मत

ढाकामोहन बराल
पोखरा ७ मासबार, कास्की

“आज त केही भन्नु नै परेन, आफैँ ?” छोराले हरि अंकललाई नमस्ते गरेको देखेर मुनाले भनिन्। ” हैन भाउजू मलाई त जहिले पनि नमस्कार गर्छ।” हरीले भने।
छोरो आफ्नै सुरमा खेलौना मोटर र बन्दुक लिएर खेल्न बस्यो।
उसले खेल्दा खेल्दै गोपाल आए।मुनाले जति भने पनि पटक्कै टेरेन छोराले।”नमस्ते गर्नु पनि यसको मुड चल्नु पर्ने।” भन्दै मुना भित्र पसिन्।
मुना भित्र पसे पछि छोरो पनि खेलौना लिएर भित्र पस्यो।
“मलाई साह्रै लाज मर्दो बनाइस् नि बाबु । हरि अंकललाई जस्तै गरेर गोपाल अंकललाई नमस्कार गर्नु पर्छ नि।” मुनाले भनिन्।
“भोलिबाट त हरि अंकललाई पनि नमस्ते गर्दिन।” उसले भन्यो।
“हेर न बोलेको। सबैलाई नमस्कार भन्नु पर्छ।” छोरालाई सम्झाइन्।
छोराले भन्यो, “आज त हरि अंकलले पनि चकलेट दिनु भएन।”