बाबुराम पराजुली “अविरल”
सुर्खेत
मसँग बहुत मिल्ने साथी सतिस ऊ अलि पढाईमा कमजोर थियो। उसको पढाई जति कमजोर थियो त्यति मेरो आर्थिक अवस्था। नजानेका कुराहरु सिकाउन मैले उसलाई कहिल्यै कन्जुस्याई गरिन । उसले पनि मलाई आफूसँग भएको पैसा खर्च गर्न र मेरो भोको पेट भर्न कन्जुस्याई गरेन।
ऊ बल्ल -बल्ल पास त हुन्थ्यो तर कहिल्यै प्रथम ,द्वितीय भएन। हामीले खरिदारको परीक्षा पनि सँगै दियौँ।
परीक्षा हलबाट निस्केर आफ्नो मुल्यांकन गर्यौ। उसको भन्दा मेरो उत्तरहरु धेरै मिलेका थिए। यदि त्यो परीक्षामा म फेल भै हाँले भने, खाडी मुलुक हन्नीएर भएपनि परिवारको जिम्मेवारी धान्नुपर्ने बाध्यता थियो।
ऊ पास वा फेल जे भएपनि परिवारले जापान वा अस्ट्रेलिया पठाउने तयारी गर्दै थिए।
अन्ततः नतिजा आयो। म फेल भएँ ऊ पास भयो। तर कसरी? एकछिन सोचे पछि पो याद आयो, “ऊ दलितको छोरो थियो, म बाहुनको छोरो।”