सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं
हिजाेसम्म सबै हेर्थे आँखा लगाई
आजैमात्र गरे सबले मलाई विदाई
स्वार्थी रैछ दुनियाँ याे थाहा पाइन
हिजाेसम्म मान सम्मान आज छैन ।
बलेकाे नै ताप्छन् आगाे मेराे के छ र ?
कसिंगर भएँ अहिले छैन घरबार
अर्काे आयाे मै हूँभन्दै भित्ताे सजायाे
उसैले नै बाजी मार्याे मलाई हरायाे ।
रूपरङ्ग हेर्दा लाग्छ सबै उस्तै छ
तर त्यहाँ तिथि मिति भन्छन् बेग्लै छ
म पनि त राम्रै थिएँ भएँ पुरानाे
तेराे पनि आउँछ दिन बन्ने बिरानाे।
रात पछि दिन हुन्छ दिन पछि रात
समयले सधैं याैटै कहाँ दिन्छ साथ ?
बिहानीकाे लाली छर्दै उदाएका सूर्य
अस्ताचल पुग्नु पर्छ चन्द्र आउनु पूर्व ।
जसले मलाई माया गर्थ्याे आज हटायाे
मेराे ठाउँमा बस्न भन्दै तँलाई पठायाे
समयले तँलाई पनि स्वाद चखाउँछ
मै हूँ भन्ने घमण्डीलाई पाठ पढाउँछ ।