“बुवा ! तपाईँ मसँग रिसाउनु भएको त छैन ?” छोराले भन्यो ।
“छैन बाबु छैन । अब म तिमीसँग रिसाउँदैन् । कुनै समय म तिमीसँग घरघोर रिसाएको थिएँ ।” बुवाले पुराना दिनको सम्झना गर्नुभयो ।
“म तिम्रो भविष्यप्रति भयभित थिएँ । म चाहन्थेँ, तिमीले मेरो कारोबारलाई सम्हाल्यौ भने तिम्रो भविष्य सुनिश्चित हुनेछ तर……।” बाबु बोल्दाबोल्दै रोकिनुभयो ।
“तर तिमीले मेरो बाटोमा नहिँड्दा म दुःखी भएँ । त्यही दुःखले म आक्रोशित भएँ अनि म तिमीप्रति कठोर भएँ ।” बाबु निरन्तर बोलिरहनु भएको थियो ।
“हजुरबाले पनि हजुरलाई गाउँमै बसेर खेतीकिसानी गरोस् भन्ने चाहनुहुन्थ्यो तर हजुर सहरमा गएर व्यापारतिर लाग्नुभयो। आफ्नो बाबुको बाटोबाट भिन्न बाटोमा लाग्नुभयो ।” छोरा बोल्यो ।
“हरेक बाबु चाहन्छ छोराले आफ्नै पथलाई पच्छ्याओस् । छोरा बाबुभन्दा भिन्न हुन चाहन्छ । उसले आफ्नो अस्तित्वको खोजी गर्दछ । त्यही अस्तित्वको खोजले उसलाई नयाँ परिचय दिन्छ ।” बुवाले आफ्नो भोगाइको सार प्रस्तुत गर्नुभयो ।
“तर बुवा एउटा कुरा हजुरले भन्न छुटाउनुभयो ।” छोरा अब भयरहित भइसकेको थियो ।
“के कुरा बाबु ?” बुवाको स्वरमा आद्र्रता थियो ।
“हरेक बाबुमा एक अहंकार हुन्छ ।”
“कसरी ?”
“बाबुको भित्री इच्छा हुन्छ, उसका सन्तानले उसको कुरा मानुन्, उसको आदेशलाई बिना कुनै प्रश्न खुरुखुरु मानिरहुन् । जब छोराछोरी फरक पहिचान खोज्छन्, बाबुभित्रको अहंकार जाग्छ अनि सन्तानप्रति कठोर बन्छन् । आफ्ना सन्तानप्रति निर्मम हुन्छ । एक किसानको छोरा व्यापारी, व्यापारीको छोरा संगीतकार अनि संगीतकारको छोरा ? अहँ थाहा छैन, के बन्छ होला । आखिर म भित्र पनि एक बाबुको अहंकार जिउँदै छ ।”