खराब बानीको फल


सृजना ढकाल

सयौँ वर्ष अगाडि, बादर पनि कुकुरजस्तै घरपालुवा जनावर थियो। त्यसबेला गाउँमा मानिस र जनावरहरू सँगै मिलेर बस्थे। प्रत्येक जनावरको आ -आफ्नै बानी थियो। कुकुर ज्ञानी थियो — कसैले केही खानेकुरा दिंदा पुच्छर हल्लाएर धन्यवाद भन्थ्यो, आफू बसेको घरको रक्षा गर्थ्यो, अनि यदि कुनै जंगली जनावर गाउँमा आएको देखेमा भुक्दै गाउँलेलाई खबर गर्थ्यो।
तर बादर भने बदमाश थियो। ऊ सधैं चकचक गर्थ्यो — अरूको घर भत्काइदिने, बारीमा फलेका फलफूल नसोधी चोरेर खाने, बाटोमा हिँड्ने मानिसलाई ढुंगा हान्ने जस्ता दुष्कर्म गर्थ्यो। गाउँलेले उसलाई सुधार्ने धेरै प्रयास गरे। तर जति सिकाए पनि बादरले उपद्रव गर्न छाडेन।
बादरको यस्तो हर्कत देखेर दिक्क भएका गाउँलेहरूले अन्ततः एउटा निर्णय गरे — उसलाई गाउँमा नराखी जंगलमा लगेर छोड्ने। सबै गाउँलेहरू मिलेर बादरलाई जंगलमा लगेर छोडिदिए। त्यसै दिनदेखि बादर जंगलमा बस्न थाल्यो, तर चकचक गर्न भने छाडेन।
आफ्नो खराब बानी सुधार्न नसक्दा बादर जंगलमा पुग्यो, भने राम्रो बानीका कारण कुकुर आज हामी सबैको प्रिय साथी बनेको छ।