‘गरिब’


मेघराज पौडेल ठुल्दाइ
गुर्भाकोट १० सुर्खेत

“बाबा, अलिकती मासु प्रमोदका घर पनि दिऊँ है । उनीहरूको घरमा खसी नकाट्ने रे । छैन रे ।” छ वर्षको छोरोले नजिकै आएर भन्छ।
“घरमा नकाटे पनि अन्यत्रबाट ल्याउँदै होलान् नि सुमन ।” मैले छोरोतिर नहेरी भने।
यति भनेर छोरोको मुखमा हेरेको उसको आँखामा आँसु टिलपिल गरिरहेको देखेँ।
“उसको घरमा मासु ल्याउने पैसा छैन रे बाबा ” आँखाका आँसु पुछ्दै छोरोले भन्यो।
“हुन्छ सुमन हाम्रो भागको बाँडेर दिउँला नि ।” मेरो कुरा सुन्ने बित्तिकै उसको मन मिल्ने साथी प्रमोदलाई सुनाउन गइहालेछ।
गरिब हुनुको वास्तविक पीडा चाडपर्वमा नै थाहा हुँदोरहेछ भन्दै मैले मासु बाँड्न लागेँ।