गाई र घोडा


सुर्यनाथ कोइराला

कुनै जङ्गलमा एउटा गाई र एउटा घोडा बस्थे। जङ्गलभरि लहलहाउँदो घाँस थियो। ती दुबै त्यही घाँस चरेर बसेका थिए । एक दिन घोडाले सोच्यो- “यो गाई नभए त सिङ्गै वनमा मेरो रजाइँ हुन्थ्यो । यो सबै मीठो घाँस म एक्लै खान पाउँथें ।”
घोडाले गाईलाई त्यस जङ्गलबाट खेद्ने उपाय खोज्न थाल्यो । ऊ एक जना मान्छेकहाँ पुग्यो र नम्र भएर भन्यो-“ए मान्छे, तपाईँलाई थाहा छैन ? हेर्नुहोस्, त्यस गाईका कल्चौँडामा अमृतसमान दूध छ। त्यसलाई समात्नुहोस् र थुनबाट दूध दुहेर खानुहोस् ।”
मान्छेले भन्यो- “घोडा, तिमीले राम्रो कुरा गर्यो, तर हेर, त्यो गाई अति चङ्ख छ । समात्न खोज्यो कि बुर्कुसी मारेर दगुर्छ । कसरी समात्ने ?”
घोडाले भन्यो-“तपाईँ चिन्ता नलिनुहोस् । मद्दत गर्ने म छँदैछु नि । म गाईभन्दा धेरै छिटो दगुर्न सक्छु । आउनुहोस्, मेरो बुई चढ्‌नुहोस् । म गाईको पछिपछि दगुरिदिन्छु । अनि त तपाईँ त्यसलाई सजिलैसित समात्न सकिहाल्नुहुन्छ नि !”
घोडाको कुरा सुनेपछि मान्छे उसको बुई चढ्यो । घोडा गाई भएतिर दगुर्यो । गाई सकेसम्म बलले भाग्यो, तर घोडाजति दगुर्न सकेन । अन्त्यमा उसलाई मान्छेले समात्यो । उसले गाईलाई घरमा लगेर बाँध्यो।
घोडा खुसी भयो । सबै जङ्गल अब उसकै भयो।
त्यो मीठो घाँस अब उसले कति खानु! कुरो घोडाले सोचेजस्तो भएन।
घोडाको बुई चढ्दा मान्छेलाई निकै मजा भएको थियो । उसले घोडालाई पनि घरमा लगेर दाम्लाले बाँध्यो । गाईलाई बन्धनमा पार्न खोज्दा घोडाले आफूलाई पनि बन्धनमा पार्यो।
शिक्षा: अति लोभ र अरूको हानि चिताउँदा अन्ततः आफ्नै नोक्सानी हुन्छ र स्वतन्त्रता समेत गुम्छ। अरूलाई फसाउन खोज्दा हामी आफैँ बन्धनमा पर्न सक्छौँ।

Nil Kantha Sharma सरकाे वालबाट साभार !