हेमराज अधिकारी
सिक्किम-भारत
“हल गोरु हजार रुपैयाँ, आली लाउने आठसय।”
गाउँमा बीरेमाथि खिसी गर्दै चल्ने यो भनाइ थियो। ऊ सधैँ सुनिरहन्थ्यो र मनमनै कसम खान्थ्यो।
“शहर गएर के बन्न सकिन्छ भन्ने देखाइदिन्छु।”
बीरे गाउँको होशियार तर गरिब परिवारको छोरो। ऊ पढेलेखेको थियो, अङ्ग्रेजी बोल्थ्यो, गाउँका बालबालिकालाई ट्युसन पढाउँथ्यो। तर गाउँको जीवन उसलाई साँघुरो लाग्थ्यो। ऊ सपना बोकेर शहर पस्यो ठूलो सपना, उज्यवल भविष्य, र “फर्केर गाउँ बदल्ने” संकल्पसहित।
शुरुमा शहर आकर्षक लाग्यो । उज्याला सडक, व्यस्त जिन्दगी, भीडभाड मानिस। केही समयमै उसले बुझ्यो । यहाँ सबै कुरा पैसामा घुम्छ। न सम्बन्ध साँचो, न माया स्थायी। जागिरको लाइनमा ऊ केवल एउटा फारम थियो। मित्रता स्वार्थमा बदलिन थाल्यो। ऊ दिनदिनै टुट्दै गयो।
एक साँझ, गह्रौँ मन लिएर पार्कमा बसिरहँदा ऊसले सम्झ्यो। आमाले बनाएको गुन्द्रुकको झोल, पाखामा चर्ने गाईहरू, र साँझपख गाउँको चौतारीमा गफिने साथीहरू। आँखामा आँसु आयो।
उसले मोबाइल उठायो र आमालाई फोन गर्यो।
“आमा, म घर फर्कन्छु। सपना देख्न शहर जानु पर्दैन रहेछ, सपना साकार गर्ने ठाउँ गाउँ पनि हुन सक्छ।” आमा: “सपना देख्ने आँखा भए पुग्छ, छोरा। ठाउँको के दोष ?”
वीरे: “ठाउँले होइन, सोचले फरक पार्दोरहेछ, आमा। अब गाउँमै केही नयाँ सुरु गर्छु।”