गाली नगरौँ, खिन्न नहोऔँ

इन्द्रकुमार श्रेष्ठ

बीउ जतिसुकै गुणस्तरीय रोपियोस्, मल जतिसुकै राम्रो हालियोस्—फसल राम्रो हुनका लागि घामपानी मिल्नुपर्छ। पढाइ भनेको पनि खेतीजस्तै हो । प्रसिद्ध शिक्षाविद् गिजुभाई भन्छन्, “घरमा बाआमाले सुधार्न नसकेका बच्चालाई विद्यालयमा शिक्षकले त के ईश्वरले पनि सुधार्न सक्दैनन् ।” तर फेरि “विद्यार्थी फेल हुनु भनेको शिक्षक फेल हुनु हो” भन्ने भनाइ पनि छ। जे भए पनि, शिक्षकले शिक्षण सिद्धान्त, सिकाइका नियम, सिकाइका सूत्र तथा शिक्षण सिकाइ विधि जतिसुकै बुझेर त्यसलाई शिक्षण सिकाइ क्रियाकलापका क्रममा कक्षाकोठामा प्रयोग गरे पनि सिकारु सिक्न तयार नभएसम्म सिकाइ सफल हुन सक्दैन । हुन पनि हो, भोकै नलागिकन कसैले पनि खाने कुरा आउँदैन।
पहिला शिक्षकले पढाउँनुपथ्र्यो। आजकल शिक्षकले विद्यार्थीलाई सिक्नका लागि उत्प्रेरित गराउनुपर्छ। उनीहरूमा ज्ञानको भोक जगाउनुपर्छ । सिक्ने क्रममा देखा परेका समस्यालाई सहजीकरण गर्नुपर्छ। सिक्ने त विद्यार्थी आफैँले हो। त्यसैले त आजकल ‘पढाउनु’/‘सिकाउनु’ नभनेर ‘शिक्षण सिकाइ क्रियाकलापलाई सहजीकरण गर्नु’ भनिन्छ। यसो भन्नु किन पनि उपयुक्त छ भने शिक्षक विद्यार्थीमाझ शिक्षण सिकाइ क्रियाकलापमा सहभागी भइरहँदा उसले विद्यार्थीलाई सिकाइरहेको मात्र हुँदैन, आफूले पनि सिकिरहेको हुन्छ । यसरी, आजकल शिक्षक सहसिकारु हो।
आजकल सिकाइ वा ज्ञानप्राप्ति अत्यन्त सहज, सुलभ र सस्तो भएको छ । सूचना प्रविधिको चरम विकास भएको आजको दुनियाँमा जेसुकै खोजे पनि तुरुन्तै पाइन्छ । तर सबै विद्यार्थीले यसको सदुपयोग गर्न सकेका छैनन्। उनीहरूको समय, जान्नुपर्ने/सिक्नुपर्ने ‘अर्जेन्ट’ र ‘इम्पोर्टेन्ट’ कुरामा नभएर खालि ‘इन्टरटेन्मेन्ट’मा मात्र खर्च हुन थालेको छ। अभिभावकहरूले यो कुरा विद्यालयलाई सुनाए पनि शिक्षकले विद्यार्थीलाई दिन सक्ने भनेको सल्लाह र सुुुुझाव मात्रै हो।
सिकाइका लागि सिकारुको व्यक्तिगत रुचि र क्षमता पनि जिम्मेवार हुन्छ । हाम्रा शास्त्रमा ३२ लक्षण र ६४ कला उल्लिखित छन् । एउटै व्यक्तिमा सबै लक्षण र सबै कला हुँदैनन् । एउटा दुईटा मात्र हुन्छन् । यही कारणले गर्दा कतिपय विद्यार्थी, शिक्षकले सिकाएको कुरा नसिकी आफैँ मिहिनेत गरेर सिकेको कुरामा विशिष्टता हासिल गर्छन्। नाचगान, खेलकुद, सङ्गीतमा आफ्नो प्रतिभा देखाउने विद्यार्थी यस्तै समूहमा पर्छन्।
निष्कर्षमा के भन्न सकिन्छ भने, विद्यार्थीको सिकाइमा प्रभाव पार्ने कुराहरू धेरै हुन्छन्। यसका लागि एक्लो शिक्षक मात्र जिम्मेवार हुँदैन । त्यस्तै, किताब पढेर उच्च जीपीए ल्याएर परीक्षा उत्तीणर् गर्नु मात्रै ठूलो कुरो होइन । निश्चित समय तोकेर लिइएको लिखित परीक्षाले विद्यार्थीको समग्र प्रतिभा पहिचान गर्नै सक्दैन । समयमै जीवन बुझेर आफूमा निहित प्रतिभा र क्षमतालाई निरन्तर प्रयोग गर्दै जानुचाहिँ असल कुरा हो । त्यसैले, हालै प्रकाशित एसइई परीक्षाको रिजल्टलाई लिएर शिक्षकलाई दोष दिनुपर्ने कुनै कारण छैन, न त अनुत्तीणर् विद्यार्थी नै खिन्न हुनुपर्ने अवस्था छ।