
सैयम अर्याल खत्री
रोल नं: ४१०९
कक्षा: ७’ग’
बूढानीलकण्ठ स्कुल
भलिबल म्याचको रौनकतालाई एकातिर छोडेर म नेपाली प्रयोगशालातिर लम्किएँ, जहाँ नेपाली नाटकका लागि पात्र छनौट भइरहेको थियो । नेपाली विभागका गुरुहरूले पहिले नै “इच्छा भए आउनू” भन्नुभएकाले म पनि परीक्षा दिन पुगेँ । नतिजा आयो । म छनौट भएँ! त्यो क्षण मेरो खुसीको सीमा थिएन । खुसीसँगै मनभित्र एउटा सानो डरको रेखा पनि कोरियो”कतै म बिचैमा हारेँ वा मञ्चबाट निस्कनुपर्यो भने के होला?”
नाटकमा मैले ‘बाल महेश’ को भूमिका पाएको थिएँ । महेश गरिब भए पनि ज्ञानी, पढ्न इच्छुक र भविष्यमा डाक्टर बन्ने ठुलो सपना बोकेको बालक थियो । भूमिका तय भएपछि हाम्रो निरन्तर अभ्यासको यात्रा सुरु भयो ।
अभ्यासका क्रममा नेपाली विभागका शिक्षकहरू आउनुहुन्थ्यो । अभिनय कसरी गर्ने, शब्द कसरी शुद्ध बोल्ने र मञ्चमा भाव कसरी प्रस्तुत गर्ने भन्ने कुरा उहाँहरूले बिस्तारै सिकाउनुभयो । नाटकका संयोजक तथा निर्देशक श्री प्रेमनारायण गुरु, नेपाली विभागकी प्रमुख प्रिया गौतमपौडेल गुरुआमा रअरु गुरुहरू श्री ज्ञानप्रसाद आचार्य, बाबुराम लम्साल, श्री गणेश तिमिल्सिना र श्री हरिशरण ढुङ्गाना सरहरूले निरन्तर मार्गदर्शन गर्नुभयो ।
कहिलेकाहीँ गल्ती हुँदा पटक पटक एउटै कुरा दोहोर्याइयो ।त्यसो गर्दा नमिठो त लाग्थ्यो तर मैले त्यसलाई नराम्रो नमानी अभिनय सुधार्ने माध्यम बनाएँ । अभ्यासका क्रममा म पहिले नचिनेका सिनियर दाइदिदीहरूसँग पनि घुलमिल हुन पाएँ । हामी सँगै खेल्थ्यौँ, ठट्टा गर्थ्यौँ, पोस्टरिङका लागि चार्टहरू बनाउँथ्यौँ ।एउटा रमाइलो प्रसङ्ग त के छ भनेअभ्यासमा रुने दृश्य आउँदा मलाई भने भित्रभित्रहाँसो उठ्थ्यो । गुरुहरूले “नहाँस” भन्दाभन्दै पनि मेरो हाँसो रोकिँदैनथ्यो, तर पनि मैले प्रयास जारी राखेँ ।
प्राचार्यज्यूको अगाडि पहिलो प्रस्तुति
एकदिन हाम्रो नाटक हेर्न स्कुलका प्राचार्य श्री केशरबहादुर खुलाल सर आउनुभयो । त्यस दिन म साह्रै डराएको र हडबडाएको थिएँ ।”कतै उहाँलाई हाम्रो नाटक मन परेन भने?” मेरोपालो आउँदा डरले गर्दा केही भाग र संवाद बिर्सिएँ पनि । तर नाटक सकिएपछि प्राचार्यज्यूले हाम्रो धेरै प्रशंसा गर्नुभयो । उहाँले मेरो अभिनय पनि मन पराउनुभयो भन्ने थाहा पाउँदा मेरो मन हर्षले गद्गद् भयो ।
मञ्चीय प्रस्तुति र दर्शकको साथ
केही दिनको तयारीपछि सिनियर ब्याच, बेसिक लेभलका साथीहरू, बाहिरी स्कुलका विद्यार्थी र अभिभावकहरूका अगाडि नाटक देखाउने पालो आयो । बेसिक लेभलका साना साथीहरूकै अगाडि प्रस्तुति दिँदा म अलि बढी डराएको थिएँ, किनकि उनीहरूले मेरो नाम बोलाएर जिस्क्याउँछन् कि भन्ने डर थियो । तर जब मञ्चमा उभिएर अभिनय सुरु गरेँ, डर कता हरायो कता ! दिनप्रतिदिन हाम्रो प्रस्तुति झन्-झन् तिखारिँदै गयो ।
आभार तथा कृतज्ञता
पहिलो नाटक भए पनि यो मेरो जीवनकै सबैभन्दा रमाइलो र सिकाइपूर्ण अनुभव बन्यो । मलाई नयाँ कुरा सिकाउन, मेरो हेरचाह गर्न र आफ्नो अमूल्य समय दिएर सहयोग गर्नुहुने नाटकका सल्लाहकार, निर्देशक, संयोजक, प्रकाश एवं ध्वनि व्यवस्थापनका कर्मचारीहरू, प्राविधिक सहयोगी दाइहरू, उद्घोषण, स्वागत, नृत्य, श्रृङ्गार र व्यवस्थापनमा खटिनुहुने सम्पूर्ण शिक्षक-शिक्षिकाप्रति म हृदयदेखि नै आभारी र ऋणी छु ।तपाईँहरूको यो योगदान र साथलाई म जीवनभर कहिल्यै बिर्सने छैन ।





