“गुरुदक्षिणा”

लक्ष्मण ज्ञवाली
तिलोत्तमा १ नीलगिरि पथ
शंकरनगर रूपन्देही

“हिँड् नातिबाबु, आज तँलाई गुरुकूलमा लगेर भर्ना गरिदिन्छु।”
आधुनिकताको नाममा दोस्रो तेस्रो पुस्ताका छोराछोरीहरूको दिनचर्या नराम्ररी बिथोलिएको देखेर राधारमणले यो निर्णय लिए ।
“प्रणाम गुरुवर” त्यहाँ पुगेपछि उनले प्राचार्यलाई नमन गर्दै नातिलाई पनि सोही अनुसार अह्राए।
“कति कामले पाल्नु भो रमणजी ?” गुरुजीको जिज्ञासा रह्यो।
“एउटा सन्ततिलाई भए पनि गुरूकूल परम्पराबाट दिक्षित र सुसंस्कारित बनाउन सक्छु कि भन्ने लागेर नातिलाई भर्ना गर्न ल्याएँ गुरु । ” उनले मन खोले ।
“आज गुरुपूर्णिमा, उत्तीर्ण विद्यार्थीको बिदाइ ,व्यास जयन्तीको कार्यक्रम पनि छ । सहभागी बन्न गुरुले अनुरोध गर्नुभयो ।”
उद्घोषकले सभास्थलमा सामूहिक गुरु वन्दनाको उद्धघोष गरे।
“गुरुब्रह्मा गुरुर्विष्णु गुरुदेव महेश्वर
गुरुसाक्षात् परम् ब्रह्म तस्मै श्री गुरवे नम:।”
वन्दना मन्त्रोच्चारणले सभाहल गुन्जायमान भयो।
तत्पश्चात सबैले प्रणाम गर्दै उपहार दिने तैयारीमा थिए। गुरुजीले म आफै मागेर लिने छु भनेर मना गर्नु भयो।
उहाँले सम्बोधनमा भन्नु भयो- “नानी बाबुहरू, तिमीहरू जो जति यहाँबाट उत्तीर्ण भएर जाँदै छौ, जे जति संस्कार , शिक्षा हासिल गर्यौ, त्यसलाई सबैतिर बाँड्नु । खर्च गर्नु ,बाँधेर नराख्नु ।विद्यारूपी धन जति खर्च गर्यो त्यति बढ्छ । ज्ञानले विज्ञान जन्माउँछ र खोज अनुसन्धानमा लगाउँछ यो कुरा सत्य र तथ्य छ। ”
गुरुले विद्यार्थीहरूलाई पुन: प्रश्न गर्दै भन्नु भयो, “मैले मागेको कुरा गुरू दक्षिणा दिन सक्छौ ? ”
सबैले एकैस्वरमा हुन्छ भने। गुरूले भन्नु भयो “लोभ, क्रोध, मद, मात्स्चर्य र आलस्य ”
यी पाँच चिजहरू जसले तिमीहरूलाई कहिल्यै माथि उठ्न दिने छैनन् । ती कुराहरू मलाई गुरु दक्षिणाको रूपमा छोडेर जाउ ल।”