रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
जेठो छोरा ट्याक्सी रिजर्भ गरेर बालाई भेट्न सपरिवार बिहानै आइपुग्यो । बालाई खादा लगाइदियो, ढोगिदियो र स्याउ टक्र्यायो । घरमै बसेकी कान्छी बुहारीले स्याउ काटेर भाग लगाई । गुलियो स्याउ चाख्न पाएर बा खुसी भए ।
माहिलो छोरो मोटरसाइकलमा आयो । माहिलो छोराले ल्याएको गुलियो छोडा टोक्न पाएर बा मक्ख परे ।
छोरीहरू बालाई भेट्न बस चढेर आइपुगे । जेठी छोरीले ल्याएको गुलियो मिस्री र सुन्तला चुस्न पाएर बा फुरुङ्ग भए अनि कान्छी छोरीले ल्याइदिएको गुलियो लड्डु, पेडा खान पाएर बा रमाए ।
३६४ दिन नै बालाई पालेर बसेको कान्छो छोराले कहाँबाट के ल्याइदियोस् ! नुहाइधुवाइ गरिसकेर बाको हातबाट टीका लगायो र आशीर्वाद थाप्यो । बाले खुट्टा तेसारे र ढोग पाए ।
कान्छाको परिवारले सबैलाई गच्छे अनुसारको भातभान्सा गराए । घरको सुसेधन्दामा कान्छो एकछिन व्यस्त हुनुपर्यो । कान्छो छोराको अनुपस्थितिको मौका छोपेर बाको मुख हेर्ने दिनमा आइपुगेका अरू छोराछोरीले बालाई उक्साए, बालाई एकछिन एकान्त गराए । बाले सुखका भन्दा पनि दुःखकै कुरा बढी ओकले अनि सहानुभूतिको महसुस गरे ।
`बाले दुःख पाउनुभएछ, बाको बिजोक भएको रहेछ´ भनेर अरू छोराछोरीले साउती मार्न समेत भ्याए । एकछिनको पाहुना बन्न आएका ती छोराछोरीसँग साखुल्ले पल्टेर बाले `बेलाबेलामा आइराख्नु पर्छ है ?´ भनेर आँसु चुहाए । `कामको व्यस्तताले सधैँ आइरहन कहाँ पाइन्छ र बा ! अब एकैचोटि दसैँमा मात्रै आइन्छ ।´ अरू सबैको साझा उत्तर यस्तो थियो ।
त्यो दिन बाको अनुहार अरू छोराछोरीसँग खुसी र आफूसँग बेखुसी जस्तो देखिएको अनुभूत कान्छो छोराले गर्यो ।
जर्रो भात, नुनिलो दाल, कोक्याउने गाभा, पिरो तरकारी, तितो करेला र अमिलो मोही खुवाएर बालाई वर्षौँ पालेको कान्छो छोराले मनमनै सोच्यो,`साँच्चै मैले बालाई गुलियो खुवाउन नसकेकै रहेछु ।´