
त्रिलोचन ढकाल
आनन्द आश्रम
आँधीखोला६;फापरथुम-स्याङ्जा,नेपाल
“घामपानी घामपानी कति रमाइलो……. !”
“हो हो नुहाऊ ! नुहाऊ ! घामपानीमा संसारका तीर्थको पानी हुन्छ।” हजुरबाले सुनाउनुभयो।
आँगनलाई वर्षाले चुमिरहेको थियो । सँगसँगै घामले पनि अँगालो मारिरहेको थियो। त्यही रमाइलोमा बालबालिकाहरू उफ्रिँदै र गाउँदै रमाइरहेका थिए। हजुरबा पनि “तीर्थको पानीले नुहाउँछु” भन्दै आँगनमा ओर्लेर तालु मुसार्न थाल्नुभएको थियो।
बालक रमेशले भने “होइन हजुरबा यो तीर्थको पानी ! हाम्रो सरले पढाउनुभएको – समुद्रबाट पानी बाफ भएर हावासँग उड्छ र शीतलोमा पुगेपछि बादल बन्छ । त्यही बादल हिमालको चिसोको नजिकै आएर डामिएपछि बाफ पानी हुन्छ र पृथ्वीमा खस्छ ।”
बालिका रश्मीको बोली खसिहाल्यो। “हो ! हो !! रमेशको कुरा ठिक हो।”
“एउटा कुराले म रन्थनिइरहेको छु । पानी बर्षन त बादल नभई हुन्न।” रमेशले आफूले जानेको कुरो बताए । “हो” रश्मीले प्रतिक्रिया जनाइन्।
“घाम लाग्न त बादल हुनुहुन्न ।” रमेश फेरि बोले ।
“त्यो पनि सही हो।” रश्मीबाट समर्थन प्राप्त भयो।
“त्यसोभए घाम र वर्षा कसरी एकैचोटि भयो ?” रमेशले आफू दुविधामा परेको कुरा बताए ।
रमेश बिलखन्दमा परेको थाहा पाएकी रश्मीले औँलाले देखाएर भनिन् “हाम्रो ठिक माथि बादल छ र पानी बर्षाइरहेको छ तर घाम ऊ पर दक्षिणतिर छ र बादलको प्वालबाट हामीलाई हेरिरहेको छ ।”





