“चस्मा हरायो”

202

घनश्याम रेग्मी

बाजे:-
नाति केटा लौ न मेरो चस्मा हरायो
दिउँसो नै रात जस्तो छाम्ने गरायो
भर्खरै त यतै थियो कता परेछ
यै कोटको खल्तीबाट फुत्त झरेछ ।

खोजी देऊ लौ न बाबु दिन्छु मिठाइँ
राम्रोसँग खोज बाबु यतै छ कि कहीँ
टिभी हेर्न पात्रो हेर्न गाह्रो गरायो
राम्रो सँग खोज लौ न चस्मा हरायो ।

नाति:-
बाजे पनि जता पायो फाल्नु हुन्छ चस्मा
खोल भित्र राख्न पर्ने जतन् गरी यसमा
कहिले सम्म थियो बाजे कहिले हरायो
कता कता फाल्छौ बुढा चस्मा हरायो ।

बाजे:-
खाना खान भित्र जाँदा यतै राखेको
यै कोटको खल्ती भित्र छुस्स राखेको
खोजी गर्दा साह्रै थाकें हत्तु गरायो
राम्रोसँग खोज बाबु चस्मा हरायो ।

नाति:-
पर्ख बाजे तिम्रो चस्मा मैले खोज्दैछु
खाना खानु पूर्व लाको कोट खोज्दैछु
कालो कोट ला थ्यौ बाजे भान्सा भन्दा पहिले
खैरो कोट लायौं बाजे शरीरमा अहिले ।

कोट पनि बिर्सिएछौ कति कस्ता रङ्ग
राख्ने पनि ढङ्ग छैन न खोज्ने छ ढङ्ग
कोट रङ्ग चिन्दैनौ कि हाँस्ने गरायो
राम्रो सँग नराखेर छाम्ने गरायो ।

बाजे:-
बूढो भए पछि सबै बिर्सिइने रैछ
भान्सा जानु पुर्व लाको कालो कोट रैछ
कस्ता सुद्धि भए मेरा होसै हरायो
हराएछ चस्मा भन्दै खोज्ने गरायो ।