छेकेवार


तुलसी पण्डित

तिम्रो यो सफलतामा कसको हात छ? उसले निर्धक्क साथ भनी। “यो मेरो आफ्नै मिहेनतको फल हो।”
“तिमीलाई कामले पढाइमा बाधा पुर्याएन?” “हेर्नुहोस् जब मानिसमा कुनै काममा लगाव हुन्छ। उसलाई
कुनै बाधा अड्चनले ठेक्न सक्दैन।”
“यहाँ सुख पाउनेहरू यसैमा असफल भएको देखिन्छ तर तिम्रो यो कष्टमय जीवनमा पनि यो सफलता कसरी हात लाग्यो?”
“जब बाबु आमाले आफ्ना छोराछोरीका हरेक् माग पूरा गरि पढ्न पठाउछन्। तिनै छोराछोरीले सोच्छन्। किन पढ्ने? सबै परिपूर्ण छ ।साथै ती पढ्ने छोराछोरीको कुनै उदेश्य पनि हुँदैन । उदेश्य नै नभएपछि कसरी उसले सफलता हासिल गर्न सक्छ र?”
“हेर तिम्रो यो नाजुक अवस्थामा पनि तिमीले एस्इइमा फोर जिपिए ल्यायौ। पढ्ने समय कुन बेला हुन्थ्यो?”
“हो म चार बजे देखि आठ बजे सम्म इट्टा भट्टामा काम गर्न जान्थेँ। त्यसपछि घर आएर रोगी आमालाई भात पकाएर खुवाउथेँ। त्यसपछि खाना खाएर म स्कुल जान्थेँ।”
“अनि बेलुका पनि इट्टाभट्टीमा काम गर्न जान्थ्यौँ र?”
“हो स्कूलबाट आएपछि म लुगा फुकालेर काममा जान्थेँ । राती आठ बजेसम्म काम गरेर घरमा आइ खाना पकाउथेँ । अनि आमालाई खाना खुवाइ म आफू खान्थेँ । त्यसपछि घरको सबै काम भ्याएर म पढ्न बस्थेँ । मेरा लागि पढ्ने समय प्रसस्त हुन्थ्यो ।पढ्ने र लेख्ने काम राती एक बजे सम्म चल्थ्यो।
“तिम्रो यो सफलताको लागि अरूलाई के भन्छ्यौ ?”
“पढ्नको लागि हामीमा जोश ,जागर ,उत्साह र उदेश्य भए सफलता हासिल गर्नको लागि कुनै छेकेवारले पनि यसलाई रोक्न सक्दैन।”