
अन्जु शर्मा
रातोपुल
दिनभर लगाएर बनाएका मीठामीठा पकवान।
बास्नाले भरिपूर्ण भान्सा।
भान्साको धिमा बत्तीले अन्धकार चकनाचुर पारेको छ। तर लक्ष्मीको अनुहारमा खुशी छैन।
“लक्ष्मी ! भोलिको ब्रत छ । ढकने र दही खाउ।” विष्णुले काँसको थालमा खान सँगै दाम्पत्य खुशी पस्किए।” भो खान मन छैन ।” लक्ष्मीले बत्ती निभएर घुक्कघुक्क गर्दै बिछ्यौना छिरिन्।
“आमा…!! म आइपुगें। बाटोमा बस बिग्रेकाले हिँडेर आउँदा ढिला भयो । आज तीजको दिन सप्राइज दिन भनेर फोन नगरी आएँ। माफ गर्नु।”छोरीको सुरिलो स्वर आँगनमा गुन्जियो।
लक्ष्मी हस्याङ् फस्याङ् गर्दै ” छोरी! आइपुगिस नानी ! तैले नखाई खाना पनि रूचेन। लु आइज ;पहिले खाना खाऔँ।”छोरीलाई अँगालो हाल्छिन्।
“हैट! छोरी घर प्रवेश गर्दागर्दै सबैतिर पूर्णीमाको चन्द्रमा विछ्याइए जस्तो घर त बत्ती नबाली उज्यालो भएर आयो ।” विष्णु मुसुक्क मुस्काए।





