
सुनिता निरौला पौडेल
राधे राधे, भक्तपुर
“तिम्रो पुरानो नफाटेका लुगाहरू छन् भने छुट्याएर राख है बहिनी , म एकछिनमा लिन आउँछु।” मिरा दिदीलाई गाउँलेहरूले सबै जनाका घरबाट पुरानो लुगाहरू भेला पारेर दुर्गम क्षेत्रमा पठाउने जिम्मेवारी दिएका थिए । बहिनीलाई यी कुराहरु जानकारी थिएन।
“हुन्छ दिदी तर यी लुगाहरु कहाँ लाने हो र ?” बहिनीले प्रश्न फ्याँकिन्।
“पहिले ठिक पारन अनि म भनौँला ” दिदीले उत्तर दिइन्। मिराको कुरालाई बहिनीले मनमनै सोचिन्।
“ह्या ! यी दिदीलाई दिनुभन्दा त सबै पुराना लुगाहरू भेला पारेर बरु डसना पो बनाउँछु ” भन्दै उनको कुरामा चासो लिइनन्।
दिदीले बहिनीलाई लुगा निकालेर राख्ने भनेको थिइन् “छैन” भनेर टारिन्।
आफ्नो लुगाहरू र गाउँमा भेला पारेको सबै लुगाहरू दुर्गम ठाउँमा दिदीले पठाई दिनुभयो।
त्यहाँका सबै गरिब दुःखीहरुलाई खटिएका भाइहरुले पालैपालो गरि लुगाफाटो बाँड्न थाले। बाँड्दै जाँदा पर एक जना बालाई जाडोले लुगलुग काम्दै गरेको देखे। उहाँको शरिरमा पातलो एकसरो लुगा मात्र थियो । दुबै हातहरू खोकिलामा राख्नुभएको थियो। नजिकै आउन नसक्ने अवस्थाको हुनुहुन्थ्यो।
भाइहरुले उहाँ बसेको ठाउँमा गएर न्यानो लुगा फाटाहरू दिए। विगतका दिनहरु सम्झँदै एकछिन बा मौन रहनु भयो। आँखा रसिला पारेर उहाँले भन्दै हुनुहुन्थ्यो – “बाबु , मैले यो अवस्थामा लगाउनु परेका जडौरी लुगाहरू म पछिका सन्तानहरूले कहिले पनि लाउन नपरोस्।”





