“जीवनको लक्ष्य“


दुर्गा घिमिरे

‘जीवनको लक्ष्य’ विषयमा निबन्ध लेख्नु,” भनेर म कक्षाबाट बाहिरिएको थिएँ। भोलिपल्ट कपी उठाएर पुस्तकालयको शान्त कुनामा बसेर म तिनै कपीहरू जाँच्दै थिएँ। कपीहरू पल्टाउँदै जाँदा एक निबन्धमा आँखा अडियो— जीवनको लक्ष्य। जिज्ञासाले पढ्न थालेँ— “जीवनका गोरेटाहरूमा लक्ष्यले कहिल्यै स्पष्ट रूप लिन पाएन। प्रश्नहरू अनगिन्ती छन्, तर उत्तरहरू आफूसँग छैनन्। यदि उत्तरहरू हुन्थे भने, सायद कपीभरि सुन्दर अक्षरले मेरा लक्ष्यहरू कोरिन्थे होला। सर, म निकम्मी होइन। उत्तर दिन नसक्नु मेरो कमजोरी मात्र हो, हार होइन, र हारको कुनै शृङ्खला मसँग छैन। मसँग हिम्मत अझै बाँकी छ। जीवनमा कठोरता सहनु अझै बाँकी छ। रहर चेतनाको उल्झन हो। अरूका लक्ष्य कण्ठ गरेर केही बेर तपाईँलाई खुसी बनाउन सकिएला, तर आफ्नो मनलाई त्यसले कहिल्यै सन्तुष्ट पार्दैन। भरोसा आफूमै हुनुपर्छ। म आमा-बाबु गुमाएकी छोरी हुँ। जीवनले समयभन्दा अघि नै धेरै कुरा सिकायो। यदि कहिल्यै अवसर पाएँ भने, मातृभूमिको रक्षार्थ एक निडर सिपाही बनेर देशको सेवा गर्ने मेरो लक्ष्य छ।” पढ्दै जाँदा मेरा आँखा केही क्षण ओसिए। त्यत्तिकैमा घण्टी बज्यो। कपी बन्द गर्दा नाममा नजर पर्यो— सुनिता। कक्षामा उसलाई हेर्दा ऊ सामान्य देखिन्थी, तर भित्रभित्रै ऊ संघर्षको ज्वाला बोकेकी रहेछे। म मनमनै सोच्न बाध्य भएँ— “हामी कक्षामा लक्ष्य सिकाउँछौँ, तर जीवनले उसलाई लक्ष्य बाँच्न सिकाइसकेको रहेछ।”