
राजन कार्की पाजु
धरान १३सुनसरी
जंगलमा गैंडा हस्याँग फस्याँग गर्दै दौडी रहेको देखेर सवै जनावर ट्वाल्ल परेर हेर्न थाले।
“किन दौडेको होला?” खरायोले छक्क पर्दै जिज्ञासा राख्यो।
“खै किन हो कुन्नि !” बाँदरले पनि अनभिज्ञता जनायो।
“अलि डराएको जस्तो पनि छ , जंगलमा शिकारी कुकुर पो पस्यो कि ?” मृगले सशंकित हुँदै भन्यो।
मृगको यो आशंकाले सबै डराए , डर लुकाउन झाडी भित्र छिरे।
गैंडा वेपर्वाह दौडिरहेको थियो।
“हैन ! किन यसरी दौडेको गैंडा भाइ ? के भयो र ?” अलिक पर पुगेपछि जम्वु मन्त्रीले भेट्यो र अचम्म मान्दै सोध्यो।
“जंगलमा हात्ती पकड्न पुलिस छिरेको छ रे !” उसले स्याँ स्याँ हुँदै भन्यो।
“किन ! हात्तीले के बिगार गरेछ र ? ” जम्वु मन्त्रीले अचम्मित हुँदै सोध्यो।
“गाउँमा पसेर उत्पात मचाएछ ।” गैँडाले जवाफ दियो।
“ओहो ! तर तिमी त गैंडा हौ! यसमा डराउनु पर्ने कुरा के छ र !” उसले झन अचम्म मान्दै सोध्यो।
“यदि पुलिसले समात्यो भने म हात्ती हैन गैंडा हुँ, भनेर प्रमाणित हुन मलाई दशौँ वर्ष लाग्ने छ।”
यति भनेर गैंडा पछाडि फर्केर हेर्दै त्यहाँबाट पनि टाप कस्यो।





