
देवीलाल पाण्डे
उबेलाको तीज सम्झँदा आँखाभरि पुरानो संस्कृतिको झल्को आउँछ।
हाम्रा आमाबुबा, हजुरआमाबाजेले तीजलाई खेल, रमाइलो वा देखावटी पर्व होइन, धार्मिक साधना र सच्चा व्रतको रूपमा लिने गर्थे। माता पार्वतीले भगवान् शिवलाई पाउन गरेको कठोर तपस्या नै तीजको मूल आधार थियो। उनले न खानु, न पिउनु, निर्जल रहनु, भगवान् शिवलाई स्मरण गर्दै भक्ति र श्रद्धाले भरिएको पूजा गर्नु—त्यो नै तीजको असली पहिचान हो।
उ बेलाको तीजः
नारीहरू बिहानै उठ्थे, स्नान गरी नयाँ लुगा लगाएर मन्दिर जान्थे।
गीतमा पनि भक्ति हुन्थ्यो — “शिव पार्वती”को कथा, नारीको धर्म, पतिको दीर्घायुको कामना, परिवार सुखशान्ति र संस्कृतिको रक्षा।
तीज भनेको केवल भोकै रहनु मात्र नभई मन, वचन र कर्मलाई शुद्ध बनाउने, परिवार र समाजलाई जोड्ने, नारीको श्रद्धा र धैर्यलाई सम्मान गर्ने पर्व थियो।
पुरानो पुस्ताले नाच्दा पनि देवीदेवताको गीत गाएर, भक्ति र आत्मीयताको रंग भर्दै रमाउँथे।
आजको तीजः
तर आजभोली तीजको स्वरूप हेर्दा मन कुँडिन्छ।
दरको नाममा रातभर मासु, रक्सी, भाँडाकुटी… अनि भोलिपल्ट निर्जल व्रत ! यो त व्रत होइन, आफ्नै संस्कृतिलाई अपमान गर्ने अपराध हो।
नाचगान त अझ विकृत भएको छ — सारीमाथि उचाल्दै हिन्दी गीतमा मस्त नाच्ने, भोग र फजुल खर्चलाई तीजको नाममा सजाउने चलनले तीजलाई संस्कार होइन, केवल मोजमस्तीको मेलो बनाइदिएको छ।
विदेशमा पसिना बगाउने श्रीमान्, अनि नेपालमै दरका नाममा दारु खाएर नाच्ने श्रीमती — यो नै के पार्वतीले चिताएको तीज हो ?
तीज भनेको:
पति दीर्घायुको कामना हो।
संस्कृति जोगाउने अवसर हो।
कि केवल मोजमस्ती र दिखावटी नाचगान हो ?
आजको जिम्मेवारी हामीले भुल्नु हुँदैन—तीज कुनै फैशन वा प्रतियोगिता होइन।
तीज आत्मशुद्धि हो।
तीज भक्ति हो।
तीज संस्कार हो।
तीज नारीको धैर्य, श्रद्धा र प्रेमको प्रतीक हो।
यदि हामीले आज पनि तीजलाई रक्सी-मासु, फजुल खर्च, देखावटी नाचगानमा सीमित गर्यौँ भने, भोलिका पुस्ताले तीजलाई पर्व भनेर चिन्नै छोड्नेछन्।
हम्रो संस्कृतिको जरा बलियो बनाउन हो भने, तीजलाई पार्वतीको भक्ति, शिवप्रतिको श्रद्धा, पतिको दीर्घायु, परिवारको सुखशान्ति र समाजको आत्मीयतामा फर्काउनै पर्छ।
हामी संस्कृतिलाई जोगाउनुपर्छ, विकृति फैलाउन होइन।
तीज भनेको आत्मा शुद्ध गर्ने पर्व हो, रक्सी-मासु खाएर व्रत बस्ने दिन होइन।





