
खोलाघरे साहिलो
देवीसमान आमा हुन् जन्मदायिनी हुन्
माया दिई असाध्यै हुर्काउने उनी हुन्
के त्याज्य ग्राह्य के हो शिक्षा दिने उनै हुन्
भित्री अनेक कुण्ठा भोग्ने बरा उनै हुन्।
चिन्ता भएन किञ्चित् आफू रहेर भोकै
बच्चा अघाउँदैमा हुन्थिन् खुशी असाध्यै
बच्चा भए बिरामी आमा दुखीरहन्थिन्
खोजेर वैद्य,धामी तत्काल ल्याइहाल्थिन्।
पुस्ता दुई नमिल्दा मिल्दैन राय,रीति
फेरिन्छ वस्त्रजस्तो नौलो समाजनीति
कर्तव्य बिर्सिनेमा पर्दा युवा जमात
जे हुन्न गर्न भन्थे सो गर्छ,हुन्छ भन्छ।
वार्द्धक्य आउँदामा हुन्छन् अनेक आशा
सन्तानले नबुझ्दा बढ्छन् उसै निराशा
बढ्दै गए निराशा कुण्ठा भएर बिझ्छ
बल्झिन्छ भित्रभित्रै झन् रोग नै थपिन्छ।
पर्देश जान्छ कोही,कोही निकै छ व्यस्त
झन् त्रस्त वृद्ध पुस्ता बन्दो छ अस्तव्यस्त
मर्ने त निश्चितै हो,खै शान्ति खै सुरक्षा?
माया,विवेकको नै पर्दोछ माग्नु भिक्षा?
आमा छँदाछँदै पो पाइन्छ भन्न” आमा”
बन्नेछ शून्य सारा आमाविना धरामा
ऐले म कल्पिदो छु आमा भए त हुन्थ्यो
संसार यो रुखोमा वात्सल्य मिल्न सक्थ्यो।
चुक्ता गरी नसक्ने बोक्दैछु मातृकर्जा
ज्युँदो छँदै नतिर्दा बढने रहेछ भारा
माते ! क्षमा म पाऊँ ,आशीष् म पाइराखूँ
पाएर जन्म अर्को सेवा म गर्न पाऊँ !***





