त्रिशक्ति

लता के. सी.
तीनकुने , काठमाडौँ

विज्ञान , प्रकृति र धर्मलाई पृथ्वी र चराचर जगतको निकै चिन्ता लागेछ । उनीहरू एउटा रूखमूनि बसेर चिन्तन गरिरहेका थिए । अचानक धर्मले विज्ञानलाई आक्षेप लगायो , “तेरो कारणले हो नि , मान्छेले आज योग र आध्यात्म बिर्सिदै गएको छ । प्राणीमध्ये श्रेष्ठ मानवबाट पृथ्वी सुन्दर बन्नेछ भन्ने आशा थियो । ऊ नै अशान्त , भय र विवशतामा बाँचिरहेको छ ।”
प्रकृतिले सही थाप्दै भनिन् ,”हो नि , मानव जीवन मात्र हो र ? यिनीहरूले त हामी प्रकृतिमाथि पनि समस्या थोपरेका छन्। हावा , पानी , माटो एकैसाथ प्रदूषित भएका छौँ । ”
दुबैका कुराले विज्ञान रुष्ट भयो र भन्यो , ” यसमा मेरो के दोष ? मलाई प्रयोग गर्ने मानव चेतनालाई भन न ! म त ज्ञान र विवेकले सही प्रयोग गरे वरदान हुन्छु , गलत प्रयोग गरे श्राप !”
प्रकृतिले असन्तोष जाहेर गर्यो , ” मैले जीवनलाई चाहिने सम्पूर्ण कुरा त दिएकै थिए । यी मानिहरूलाई ठूलो हुने र भौतिक सुविधा भोग्ने प्रतिस्पर्धा बढ्यो । उनीहरूको आफ्नै कारणले त हो , सृष्टिका अन्य प्राणीको तुलनामा सुख शान्ति गुमाउनु परेको छ ।”
विज्ञानले प्रकृतिलाई लोपार्दै भन्यो , “ईस् ! मेरा वरदानबाट पृथ्वीमा कति सम्यता र विकास भएको छ , ध्यान दिएको छस् ?”
धर्मले घमण्ड गर्यो , ” तिमीहरूले जति फुर्ति गरेपनि आपत विपत पर्दा मान्छेले हे भगवान ! भनेको सुनेका छेेनौ ? ”
अलि पर बसेर उनीहरूका कुरा सुनिरहेको कुकुरले सोच्यो , ” त्रिशक्ति मिलेर राम्रो विषयको उठान गरे भनेर कान थापेको त ! थुइक्क , यिनीहरू पनि अन्त्यमा मान्छेजस्तै झगडा पो गर्न थाले । “