
रमेशचन्द्र घिमिरे
पशुपतिनाथको दर्शन गएका दम्पत्तिको कार मन्दिरनेरै पुगेर रोकियो । बाटमा एउटा माग्नेले दुई हात जोडेर अनुनय गर्दै थियो, “हजुर पाँच दस रुपैयाँ पाऊँ न !”
दम्पत्ति वास्तै नगरी अघि बढे । भगवानका लागि ल्याएका फलफूल, पैसा र मिठाई चढाए । मूर्तिलाई ढोगे अनि “रक्षा गर भगवान्” भन्दै नमस्कार गरे र फर्किए ।
फर्किँदा उही माग्ने उही पाराले उसरी नै अनुनय विनय गर्दै भन्यो, “हजुर यो गरिबका लागि पाँच दस रुपैयाँ …”
वास्तै नगरी दम्पत्तिले कारको ढोका खोले, ढ्याम्म लगाए ।
कारको भित्रबाट आएको आवाज बाहिर प्रस्टै सुनिन्थ्यो – “यी माग्नेको पनि कामै छैन । खाली मागेरै सताउँछन् ।”





