भक्तपुर सानो ठिमी
“ आमा, अहिले नै आत्तिनु जरुरी छ र ?“
“हेर छोरी, राम्रो घरको कुरो छ । तिमीलाई थाहा छ बाबाको कत्रो ठुलो मान-प्रतिष्ठा छ समाजमा । फेरि केटाले पनि अमेरिकाबाट डाक्टरी गरेको रहेछ ! समयमा निणर्य गर्न नसक्दा दुर्घटनामा परिन सक्छ पछि।“
“ठीक छ त छोरी, तिम्रो बिचार के छ, भन न त ?” बुबाले कारको सिसा पुछ्दै छोरीको मनसाय बुझ्न खोजे ।
“यो विषयमा म हजुरहरुलाई छिटै निणर्य दिनेछु ।” छोरी तुरुन्तै बाहिर निस्किन् ।
एकैछिनमा उनी व्हीलचेयर धकेल्दै घरभित्र पसिन् । व्हीलचेयरमा एकजना भलाद्मी देखिने युवा थिए । उनका दुवै खुट्टा थिएनन् ।
छोरीले गम्भीरभावमा ती व्यक्तिललाई देखाउँदै भनिन्, “…हामी साथी !”
ती युवकले बुबा आमालाई नमस्कार गरे । उसलाई नियाल्दै बुबाआमा दुवै अक्क न बक्क परे । उनीहरुले केही सोध्नुअघि युवकले भने, “म राजेश घायल ! पन्ध्र वर्षको छँदा २०६३ सालमा विद्यालय जाँदै गर्दा ठूलो दुर्घट्नामा परेँ ! कसैले चलाएको कारले मलाई किचेको अरे भन्नुहुन्थ्यो मेरो बुबा..।बितेका कुरा बितिगए, तर आज म, परिवारको सहयोगले एउटा सफ्टवेयर इन्जिनियर हुन पाएँ ।”
छोरीले ती युवकसँग आँखा जुधाउँदै भनिन्, “उहाँलाई नै मैेले मेरो जीवन साथी रोजेकी छु !”
छोरीको कुरो सुनेर आमाको अनुहारमा डर सलबलाए झैं देखियो । असिनपसिन भएका बुबाको अनुहारको निलो कालो भयो ।