
रम्भा पौडेल
तिहारको रमझम चल्दै थियो । सबैका घरमा झिलिमिली बत्ती बलिरहेका थिए । हजुरबाले आफनै छोरो आउने बाटो हेरेर टोलाएको धेरै दिन भैसकेको थियो “के टोलाएर हेर्नुभएको हजुरबा ? आज पनि ?” भन्दै नातिले हात समात्यो। हजुरबाले भन्नुभो — “तिम्रो बाबा पोहोर साल पनि आएन । यसपालि नि आएन। त्यै भएर टोलाएर हेरेको नि।” हजुरबाले उत्तर दिनुभयो । सुन्तालाको बोटमा बसेका भगेरा चराहरूकोचिरविर आवाज आएतिर हजुरबाले हेर्दै भन्नुभयो,“ए साँझ पर्न थालिसकेछ । अव त मुलगेट लगाएपनि भयो।”
हजुरबाले गेट लगाउन खोज्दा नातिले दौडदै गएर भन्यो, “आज गेट नलाउनुहोस् हजुरबा । मेरा साथीहरु आउँछन्। बा नआएर के भो त म छँदैछुनी ! हजुरलाई दुःख हुँदा मैले सेवा गरेकै छु नि । बिरामी पर्दा अस्पताल लगेकै छु । चिन्ता नगर्नूहोस्।”
“आज हामी देउसी–भैली खेल्ने हो । देउसी–भैली आउँदा ढोका लगाउनु हुँदैन भन्छन् नि हैन र हजुरबा ? बरु भन्नुस आज हाम्रो भैलीलाई कति पैसा दिनुहुन्छ।”
“ए त्यसो पो ! लल । एक–दुईटा देउसीभैलीलाई त दिउँला नि पैसा । कार्तिक हो, दान दिनु पर्छ भन्छन् ।” एकै छिनमा देउसीको समुह आइपुगो । हजुरबा आँगनमा कुर्सी राखेर बस्नु भो।
उनीहरुले देउसी भट्याउन थाले।
ए भन भन भाइ हो —देउसिरे
ए सबैले भन —देउसिरे
ए मनैले गुन —देउसिरे
ए सुन्नेले सुन—देउसिरे
ए नौलाख तारा—देउसिरे
ए पृथ्वी जस्तै — देउसिरे
ए घुमि र फिरि — देउसिरे
ए बर्षै र दिनको — देउसिरे
चाड र बाड — देउसिरे
एआयो नि बरै—देउसिरे
ए गारो पिरो — देउसिरे
ए नमान्नु होला — देउसिरे
ए चारै र वर्ण — देउसिरे
ए छत्तिस जात — देउसिरे
ए नेपालै हाम्रो — देउसिरे
ए हिमालै हाम्रो—देउसिरे
मेचि र काली—देउसिरे
ए कर्णाली हाम्रो — देउसिरे
उ पूर्वको मेची — देउसिरे
छ झनै राम्रो — देउसिरे
ए सगरमाथा हाम्रो—देउसिरे
ए मैदान पाखा—देउसिरे
ए मदेश हाम्रो—देउसिरे
ए सबैको मायाँ — देउसिरे
ए बोकेर आयौँ—देउसिरे
ए बाटै र माथि—देउसिरे
ए बाटै र मुनि—देउसिरे
ए अक्करै पारि—देउसिरे
ए जेमराज —देउसिरे
ए नखा है हामलाई — देउसिरे
ए दिदीको हातको — देउसिरे
ए सप्तरंंगी टिका — देउसिरे
ए लगाएर जाउँला —देउसिरे
ए बाबा र आमा — देउसिरे
छोरा छ विदेश—देउसिरे
ए भनेर फेरी — देउसिरे
नमान्नु पिर — देउसिरे
ए आँखामा आँशु — देउसिरे
ए नलिइकन — देउसिरे
ए उघार मुहार — देउसिरे
ए दुईहात जोडी—देउसिरे
ए भन्दछौँ हामी — देउसिरे
ए देउ छिटो दान — देउसिरे
ए सबैले भन—देउसिरे
हजुरबाले चाख मानेर देउसी सुनिरहनुभयो र भन्नु भयो — “ए नातिकी हजुरआमा, यिनीहरुलाई दान दिइहाल!”
भित्रबाट हजुरआमाले सुपोभरि नयाँ नोट, सेल,फिनी,अर्सा,अनरसा, झिनिया रोटीहरू र चामलसहित पालामा बत्ती बालेर देउसीरे टोलीलाई दिनुभयो । देउसिरे टोलीका सबैले रोटी बाँडेर खाए अनि चामल बोरामा राखि अर्को घरतर्फ लागे।





