
ध्रुवराज थापा ‘पुरूष’
काभ्रे,पनौती, हालः कपन, काठमाडौँ
“खै खै हामीलाई चस्मा देखाउनुस् त!”
दुईजना महिला चस्मा पसलभित्र पसे।
पसलेले भने,”खै चस्माको पर्चा दिनुस् त,पावर कति रहेछ हेर्नुपर्यो!”
“हामीले त्यस्तो पावर भएको चस्मा खोजेको होईन, पावर विनाको चस्मा खोजेको! छैन कि क्या हो?” रूपाले भनिन् ।
पसलेले हत्तारिँदै उत्तर फर्काए, “किन नहुनु नि! मेरो पसलमा जस्तो चाहियो त्यस्तै चस्मा छन्!”
भन्दै उनले एउटा चस्मा निकालेर देखाए।
पार्वतीले चस्मा हातमा ओल्टाई पल्टाई गर्दै खिस्याईन्, “यो के चस्मा देखाउनु भएको यस्तो चस्मा पनि लाउँछौँ त हामी?”
पसलेले सम्झाउँदै भन्यो, “यो धेरै राम्रो चस्मा हो, घाम लागेको बेलामा कालो हुन्छ, अनि घाम नलागेको बेलामा आफैँ सेतो हुने चेन्जेबल चस्मा हो, आँखालाई निकै राम्रो गर्छ।”
रूपाले कुरा प्रष्ट पारिन, “हामीलाई आँखामा लगाउने चस्मा चाहिएको होईन के!”
“आँखामा लाउने नभए कहाँ लगाउने चस्मा चाहियो त तपाईँहरूलाई?” पसलेले आश्चर्य व्यक्त गरे।
पार्वतीले रहस्य खोलिन, “हामीलाई चाडबाड,विहे व्रतबन्ध र घुमघाममा टाउकोमाथि राख्ने कालो चस्मा चाहिएको हो क्या!”





