“देवीको पीडा”


प्रह्लाद दवाडी
लिङ्गमो पेपथाङ दक्षिण सिक्किम

देवीमाया बाख्राको सानो पाठोसँग आँगनमा खेलिरहेकी थिई। घरी बसेर काखमा बोक्थी घरी उठेर भुँडीमा बोक्थि। घरी काँधमा बोकेर लान्थी घरी ढाडमा बोक्थी। उसलाई त्यो बाख्राको पाठो आफ्नै दौतरी साथी जस्तो लागिरहेको थियो । ऊ पाठो सुमसुम्याउथी । पाठो उहीसँग दलिन्थ्यो , ऊ उफ्रिँदै भाग्थी पाठो सँगसँगै उफ्रिँदै दौडिन्थ्यो । उसले पनि पाठालाई छोड्ने मन गर्दिनथि। पाठाले पनि उसलाई छोड्न मन गर्दैनथ्यो। खुसीसँग खेलिरहन्थी, पाठोसँगै बोलिरहन्थी । उसलाई पाठासँग खेल्न पाउँदा भोक तिर्खा पनि लाग्दैनथ्यो।
बाले भने ‘ आज त नुहाउनुपर्छ है देवीमाया, खेली नबस्। नुहाएन भने बाख्रो भइन्छ।’
‘किन कसरी हजुरबुवा ? देवीमायाको जिज्ञासा बढ्यो।
‘आज बडा दशैंको सप्तमी हो, सबैले नुहाउनुपर्छ, ननुहाउने मान्छे बाख्रो हुन्छ ।’ बाले भने।
‘होस् मेरो त खेल्ने साथी छैन म बाख्रै भएदेखि ठिक छ। यही पाठोसँग खेलिरहन्छु।’
बाले घरकै छेउको मन्दिरमा धुपबाती गर्न थालेl
नानी, त्यो पाठोलाई अलिकति गंगाजल छर्केर यहाँ लिएर आइज त ‘
किन हजुरबुवा? ‘
‘यहाँ भगवानलाई चढाउनुपर्छ।’
छी : मैला गरिदिन्छ मन्दिरभित्र, बाख्राको पाठो मन्दिरभित्र लानु हुँदैन हजुरबुवा।’
‘ले त चुप्प लागेर, बलि दिनुपर्छ देवीलाई।’
‘कसरी बलि दिनु हजुरबुवा ?’
‘यो पाठो काटेर देवीलाई चढाउनुपर्छ। ‘
‘हजुरबुवा अनि हामीलाई भगवानले बनाएको होइन ?’
‘हो त नि ।’
‘अनि यो बाख्राको पाठो पनि भगवानले बनाएको होइन र ?’
‘हो त नि। ‘
‘अनि कसरी देवीले आफ्नै छोराछोरीलाई बलि चढाई माग्छिन् त ?’
‘देवीलाई खुसी पार्न पाठो चढाउनुपर्छ नि।’
‘उसो भए देवीलाई खुसी पार्न मलाई पनि सँगै चढाइदिनु, झन् खुशी हुन्छिन् होला। हामी दुवै लाई सँगै चढाइदिनु।’
‘के भन्छे यो फेरि ? पुङ न पुच्छरको कुरा गर्छे ।’
देवीमायाले पाठो बोकेर अन्तै भाग्न लागेकी थिइ बाले च्याप्प समातेर पाठो लगे । उ पनि सँगै गई।
बा ले अलिकति गङ्गाजल छर्केर पाठो चोख्याए अनि देवीको प्रतिमामा पनि गंगाजल छर्किए। देविमायाले नियालेर हेरिरहेकी थिई । बाले पाठाको घाँटीबाट टाउको अलग गरिदिए र त्यो टाउकाको खुन देवीको मूर्तिमा चढाए । यो देखेर ऊ डाको छोडेर रोइ।
‘ए ठूली बुहारी, यो नानीलाई उता लैजा है, यहाँ पूजा गरेको ठाउँमा अल्झाउँछे।’ बा ले बोलाए।
देवीमायाकी आमा हतार हतार आएर आँखाको आँशु पुस्तै सोधिन् , ‘ किन कहालिएर रोएकी छोरी ? नरोऊ। अब चिची खानुपर्छ। जाउँ हिँड।’
‘ आमा हजुरबाले मेरो कुरा नबुझ्दा रोएकी l मेराे पाठो मारेर मन्दिरमा चढाउनु भयो। मूर्तिको आँखाबाट पनि खुन बगिरहेको छ। आफ्नै सन्तान मारेर आमालाई चढाउँदा पनि कोही खुसी हुन्छ र? उता मन्दिरभित्र कि मूर्तिलाई हेर्नु त।
आमाले देवीलाई हेरिन्। अनुहारमा आँखाबाट खुनका थोप्पा बगेर झरी रहेका थिए।
‘छोडी देऊ नानी, हामी भान्सा घरमा जाऊँ।’
‘ नुहाएर पनि हजुरबा चै बाख्रो हुन, केही न बुझ्ने। देवीको पीडा हजुरबाले नबुझेर देवी रोइरहेकी छिन् l’
बाले नानीका कुरा सुनेर पुलुक्क हेरे। केहीबेर घोरिए र देवीको मूर्ति अगाडि घुँडा टेकेर हात जोडेर बसे। हजुरबुवाले देवी सँग क्षमा याचना गर्दै गरेको देखेर देवीमाया रुन छोडी। उसले सोची उसको पाठो अब फेरि जस्ताको त्यस्तै सजीव हुन्छ।