
कोषवल्लभ रेग्मी
दे न पा ७ इलाम
“ए नाथे! भएन। दाहिने तिरबाट घुमाएर बेर भनेको।”-बाले मेरो हात समाउँदै दाम्लोबाट्ने पोया अर्कोतिर घुमाइ दिनुभयो। बल्लबल्ल पोया सानो र घोरिया हुँदै एउटा दाम्लो मुस्किलले सिध्याएँ। हात बाउँडिएर खस्ला जस्तो भैसकेको थियो।
“गलाम गाँठो यसरी..! तेरो पाराले त गाई घँटेसी लागेर मर्छ।”-बाले गाँठो,पसेउटो बनाउन सिकाउँदै भन्नुभयो। मलाई भने भित्र-भित्रै रिस उठिरहेको थियो। तर बाको अगाडि केही भन्ने आँटै थिएन।तै पनि -“यसो नगर्दा पनि मलाई पुग्छ…!”-भन्दै मुर्मुरिएँ।
“आफ्नै लागि हो बाबै! पछि थाहा पाउँछस्।”-बा यति कुरामात्र भन्दै बाछाको टाट्नो मिलाउन थाल्नुभयो। बाले घुम बन्न सिकाउँदा बिट बिग्रदा “-लौ खा ! यति गर्न आउँदैन ?”- भन्दै हल्का मेरो गालामा चट्कन् चखाउनु भयो। म सुकसुक गर्दै चोया केलाउन थालें। हात काटेर चर्चरी रगत बग्न थालेको थियो।दुखाइको त कुरै छाडौं।
बाले हलो बनाउन,फालीघर छेड्न,घर छाउन,डोको,डालो,पेचा बुन्न देखि लिएर साधारण ज्योतिष समेत सिकाउनु भयो।ती सबै काम गर्न र सिक्न त्यति सहज थिएन।हात काट्ने,ठेला उठ्ने,कम्मर दुख्ने,हिसाब नमिल्ने आदि समस्याले कति सताउँथ्यो भनेर साध्य छैन।
आज मसँग जुन कुराको प्रमाणपत्र छ त्यो कुरामा म निपुण छैन। र त्यसले मलाई जागिर खान शिबाय केही काम दिएन।तर आज म जुन कुरामा निपुण छु त्यसको प्रमाणपत्र मसँग छैन। र पनि जस्ले मेरो जीवनमा आमूल परिवर्तन ल्याइदिएको छ।खुशी र सन्तुष्टि प्रदान गरेको छ।
“मलाई त बुनेकै घुम चाहिन्छ है हजुर…!”-श्रीमतीलाई बुनेकै घुम नभै हुदैन।
“ए बाबू ! लौ न गाईले दाम्लो चुँडायो। गलाम गाँठो बनाईदिनु पर्यो।”-पल्ला घरे आमै,माझघरे काकीलाई दाम्लो दिएर पठाउँछु। कतिलाई गाँठो पसेउटो सिकाउँछु।
“ए हजुर ! हिजो मेरो नाति जन्म्यो नाम के जुर्छ हेरिदिनु पर्यो।”-सबै जसो गाउँलेका बच्चाहरुको नाम जुराउने,विवाहको लगन जुराउने देखि लिएर ग्रहदशा हेर्ने कामले घरमा भिड लाग्छ।कोही कोही त भोगबन्दकी,तमसुक,मुचुल्का आदि लेखाउन समेत आउने गर्छन्।
यो कामबाट मलाई कुनै आर्थिक लाभ छैन। मैले चाहेको त्यो पनि हैन। हिजो बाले यी सब कार्य सिकाउँदा मलाई जति कठिन भयो,रिस उठ्यो र झर्को लाग्यो आज त्यसैले मलाई खुशी प्रदान गरेको छ।बाँच्नुको सार बनेको छ। मान प्रतिष्ठा प्राप्त छ। जीवन आनन्दमय बन्न सकेको छ।धन्य बा….!!!!!





