धरातल

सत्या अधिकारी
सानेपा

सबैको शीतल छहारीजस्तै थियो , डाँडाको बूढो पीपल। गर्मी याममा बटुवाहरू थकाई मेटाउन यहीँ आउने गर्दथे।पोहोरको बर्खा याममा एउटा लहरो आश्रय खोज्दै आयो र त्यै बूढो पीपलमा लपक्क टासियो। उसँगको साथले हलक्क बढेर लहरोले छिटै नै पीपलको टुप्पो छोयो ।
“पिपल दाइ , हजुर कति वर्षको हुनुभयो?” लहराले सोध्यो ।
” खै, १०० बर्षको भएँ कि ? ”
लहरोले हाँस्दै भन्यो, ” हैन , तपाईँले बढ्न जान्नु भएन क्यारे ! म त यति छोटो समयमा नै तपाईँजत्रै भएँ ।
पीपलले गम्भीर हुँदै लहरालाई सोध्यो ,” तिमीले जाडो गर्मी भोगेका छौ?”
” छैन। ” लहराले जवाफ दियो।
” आँधी तुफानको झोक्का महसुस गरेका छौ?”
“छैन” लहरा बोल्यो।
पीपलले सत्य ओकल्यो , ” हेर! ती भनेका जीवनका कठिन समय हुन् । यस्ता विपदमा ज्यान जोगाउन गाह्रो हुन्छ। मेरो यो उमेरसम्म आइपुग्दा तिमीजस्ता लहराहरु त कैयौँ आए । सबैलाई मैले जोगाएँ । ”
चौतारीमा बसेको बटुवाले उनीहरूको कुरा सुनी रह्यो । मनमनै सोच्यो, ” बर्खामा उम्रने र हिउँदमा सुक्ने लहराहरूले आफ्नो धरातल बिर्सेर पीपलको उचाइ मापन गर्न सक्छन् र ? “