“धर्म”

श्यामप्रसाद श्रेष्ठ
हेटौडा

“गुहार! गुहार!”
सडकमा हिँडिरहेको एक युवकले आवाज आए तर्फ हेर्यो। बाटो छेउमा नै रहेको पोखरीमा डुब्दै गरेको मानिसले हातले इशारा गर्दै बोलाउँदै भन्दै थियो – “ कृपया मलाई बचाउनुहोस!”
ऊ छिटो छिटो दगुरेर डुबिरहेको मानिसको नजिकै पुग्यो।
बाँच्ने आशा सबै त्यागिसकेको त्यो मान्छेको अनुहारमा अगाडि युवक देखेर पुन बाँच्ने आशा छायो।
डुबिरहेको मानिसले हात अगाडि दिँदै भन्यो-“मलाई तान्नु होस!”
युवकले लामो सास तान्दै भन्यो- “एकछिन पर्ख है!” भन्दै छिटो छिटो उसले झोला खोल्यो र क्यामेरा निकाल्यो।
पोखरीमा मानिस डुब्दै थियो। उसले पानी भित्रबाट टाउको बाहिर निकाल्दै भन्यो- “ मलाई छिटो बचाउनुहोस न!”
युवकले क्यामेराको लेन्स मिलाउँदै भन्यो- “जीवनको यो अन्तिम क्षणमा परिवारजनलाई केही भन्नु छ ? म एक सन्चारकर्मी भएकोले सत्य तथ्य समाचार समाजमा पुर्याउनु मेरो मुल धर्म हो।”