
धनसिंह विश्व
गेजिंग प० सिक्किम
“यस्लाई पनि तपाईँसित लानुहोस्।” रोहनकी आमा सानुले भनी।
म पनि धान दिवस मनाउन टारी खेत जान तैयारी हुँदै थिएँ। आठ बर्षको छोरो रोहनलाई पनि आफूसँगै लिएर गएँ।
धान दिवसको कार्यक्रममा मुख्य अतिथिबाट अलिकति धान रोपेपछि दिनभरी अन्य सांस्कृतिक कार्यक्रम र खेलकुद कार्यक्रमहरू सम्पन्न भयो। अन्तमा दहीचिउरा र खाना खाएर बेलुका घर फर्कियौँ।
रोहनले बाटोमा मलाई सोध्यो, “बाबा! यो धान दिवस भनेको के हो ?”
“धान दिवस भनेको खेतमा धान रोप्ने काम हो। यहाँ सबैजनाले वर्षमा एकचोटि भएपनि हिलो टेक्नुपर्छ रे नि। अनि सबै ठुला बडाहरुले धान रोप्ने काम गर्छन्।”
छातीको ‘बटम फ्लावर’ देखाउँदै भन्यो, “यो चाँही किन लगाइदिएको?”
“ठुला बडाहरुलाई लगाई दिन्छन् नि।”
“त्यसो भए भोलि मलाई एक हजार रुपैयाँ पैसा दिनुहोस् ल बाबा।”
“किन ? मसित त्यस्तो पैसा छैन?” झस्किएर सोधेँ।
रोहनले भन्यो “हाम्रो पनि भोलि स्कूलमा धान दिवस मनाईंदैछ। मेरो छात्तीमा ‘बटम फ्लावर’ लगाउँदा हजुरले जस्तै मैले पनि पैसा चढाउनु पर्दैन त ?”





