
रोजिना घिमिरे
नयाँ वर्ष रे आज। नेपालका गल्लीहरू रंगिएका होलान्, दाजुभाइहरू गम्लङ्ग अँगालो हाल्दै शुभकामना साटिरहेका होलान्, कसैले दैलोमा दियो बालेर पूजा गरेर नयाँ वर्ष मनाउँदै होलान्, कसैले आँगनमा वृक्ष मुनि बसेर शीतलता लिँदै होलान्, कोही नयाँलुगा लगाएर टीकामा सजिएर नयाँ आशा ओढ्दै होलान्, यो देखेर कतिका सानासाना छोरीहरूले आमाको काखमा बसेर नयाँ चुरा, नयाँ लुगा मागिरहेका होलान्, कुनै आँगनमा नयाँ चुलो बालिँदै होला, कुनै भान्सामा तातो सेल र अचारको गन्ध फैलिँदै होला।
तर म? म त यहाँ छु — खाडीको तातो बालुवा, घाम र पसिनाको भूमिमा।
छ नबज्दै मोबाइलको अलरामले उठायो, ओढ्ने पल्टाएर ओछ्यान छोडेँ, उता फर्केँ चुपचाप। कोठा सुनसान थियो।
क्याम्पबाट साइट जान ढिलो भयो भने सुपरभाइजरले कराएको कर्कस स्वर सुनिन्छ।
गर्मी बालुवामा टेक्दा जुत्ता पनि जल्छ, तर मेरो मनमा भने अझ बढी पोल्छ, नेपालको हरेक पर्व, उत्सव र खास क्षणहरू छुटाउनु परेको पीडाले। आज काममा जाँदै गर्दा हातले आँखा छोप्दै सोचेँ।
नेपालको घाम यति तातो हुन्थ्यो होला र? त्यो घाम त छायाँजस्तै न्यानो लाग्थ्यो,तर यहाँको घाम, यो त पोल्छ, जलाउँछ, भित्र–भित्रै रित्तो बनाउँछ।
यहीँ काम गर्ने एक दाजु कराउँदै थिए, “नयाँ वर्षको धेरैधेरै शुभकामना है! सबै हाँसे, कसैले सेलको तस्बिर देखाए, कसैले भर्खरैका भिडियो।
तर त्यो हाँसो, त्यो रमाइलो, मोबाइलको पर्दाभित्र मात्र सीमित रह्यो।
म एकछिन एक्लै बसेँ ड्युटी सुरुवात हुनु अगाडि,आँखा बन्द गरेँ र कल्पिएँ।
“यदि आज म नेपालमा हुन्थेँ भने?शायद म बिहानै आमा सँगै तुलसीको मठमा पानी चढाउँथेँ, बुबाको हातमा सुपारी राखेर टीका थाप्थेँ, साना भतिजाहरूको निधारमा अक्षता राख्दै उनीहरूको हाँसो हेर्थेँ।
तर अहिले, यता – म एउटा सुक्खा र कठोर ठाउँमा छु, जहाँ पैसा कमाउन सकिन्छ, तर परिवारको साथ पाइँदैन। जहाँ पसिना बगाएर जिन्दगी धानिन्छ, तर मन कहिल्यै भरिन्न।
सुर्य झन झन टाउकोमा झुल्किरहेछ, पसीना बग्दैछ, तर भित्रको पीडा अझ बढी तातिरहेको छ।
आज नयाँ वर्ष हो भन्ने कुरा सम्झाउन होला मोबाइलको नोटिफिकेसन आयो। हेरेँ, नेपालबाट भाइको म्यासेज आएको रहेछ। लेखिएको थियो, “दाइ, नयाँ वर्षको शुभकामना। आउन त सक्नु भएन, फोटो हेर्नु है! फोटो खोलेँ – भाइ, आमा, बुबा, सबै नयाँ लुगा लगाएर रमाउँदै थिए।
घरको त्यही पुरानो आँगन, त्यही पीपलको छायाँ…आँखा रसाए, गला अवरुद्ध भयो, केही भन्न सकिनँ।साहुको आँखा छलेर घरमा कल गरेँ। फोनमा आमाको आवाज आयो, “छोरा, आज त नववर्ष पर् म मुस्कुराएँ, आँखा चिम्लिएँ, अनि आँशुले गाला चिप्ल्याएर भनेँ, “काममै छु आमा, बेलुका रमाइलो गर्छु नि।”
तर मलाई राम्रोसँग थाहा छ — रमाइलो? कहाँ? कसरी? यहाँ त लामो समयसम्म सूर्यको स्पर्श लिँदै आफ्नो ड्युटी पुरा गर्नुपर्नेछ, ड्युटी सकेर गएपछि खानका लागि टिफिनमा फिर्का अनि सपनामा मात्र अचारको स्वाद बाँकी छ, तर यो कुरा म आमालाई बताउन चाहन्न, किनकि, मलाई थाहा छ, यो कुरा सुनेपछि नयाँ वर्षको आगमनले आमाको मुहारमा ल्याएको उज्यालो एकाएक हराउनेछ।
नयाँ वर्षको शुभकामना पठाउँदै साथीहरूका म्यासेजहरू आउँछन्, म हेर्छु, पढ्छु, अनि खिसिक्क हास्छु, तर त्यो हाँसो पनि सुनसान क्यान्टिनको भित्ताले मात्र सुन्छ।
नेपाल सम्झिन्छु — आँगन सम्झिन्छु, दशैं तिहारमा पकाएर राखिएको सेल र अर्सा सम्झिन्छु, बिहानै नुहाई धुवाई गरेर, टिका लगाएर आमाको हातको मिठो खाजा खाएको सम्झिन्छु।
यहाँ भने सौर्य झुल्किएको छ, तर त्यो घाममा माया छैन, त्यो उज्यालोमा घरको न्यानोपन छैन। कति फरक परेछ जीवन, कति टाढा छु म आफ्ना दिनहरूबाट।
मनले एउटा कुरा भन्छ, तर के गर्नु? त्यही मन, त्यही सपना बोकेर नै त यहाँसम्म आइपुगेको हुँ, त्यही सपना – छोराछोरी राम्रो पढून्, आमा-बुबाले दुःख नपाऊन्, घरमा नयाँ छाना लागोस्, थोरै भए पनि सम्मानसँग बाँच्न पाइयोस्।त्यसैले म आफूलाई सम्झाउँछु, “शायद यो घामले सधैं पोल्दैन, शायद अर्को नयाँ वर्षमा म घरमै हुनेछु, आमा बुवासँगै, भाइबहिनी सँगै, त्यही पुरानो आँगनमा सेल र अचारको स्वाद चाख्दै, त्यही ‘शुभकामना’ लाई अँगालोमा बाँध्दै।””यो समय पनि बित्छ, त्यो दिन पनि फेरि आउँछ, जहाँ म आफ्ना प्रियहरूसँग एउटै आँगनमा नयाँ वर्षको आनन्द लिँदै चियापसलमा रमाइलो गरिरहनेछु।”
त्यस दिनको पर्खाइमा आज म खाडीको घाममुनि मुस्कुराउँदै भन्छु, शुभ नयाँ वर्ष, नेपाल !, म तिमीलाई सम्झिरहेको छु।





