“नयाँ वर्ष”

शोभा कोइराला

नयाँ वर्ष उल्लास बोकेर आओस्
सिँगारी धरा बेहुलीझैँ सजाओस्।।

सुनौलो धरामा गरा कन्दराको
वसन्ती बगैँचा सधैँ मग्मगाओस् ।

खुसीको अनौठो नयाँ वर्ष पाई
प्रिया साथ साथै बगैँचा रमाओस् ।

बढोस् भाइचारा सुधापान गर्दै
मिलाएर आत्मा अँगालो लगाओस् ।

सयौँ जातको पुष्पमाला सजाई
सुनौलो बिहानी सदा झल्मलाओस् ।

हटोस् द्वेष दुर्भावना अन्धकार
चिदाकाश आकाश बन्दै उदाओस् ।

अँध्याराे हटाई जलाएर बत्ती
धराधाम याे जूनझैँ जग्मगाओस् ।