शुक्रराज कुँवर
धरान १०
एकजना ट्राफिक प्रहरी हवल्दार सडकमा आफ्नो काममा खटिएका थिए। एउटा बाइक तेज गतिमा बतासिदै आउँदै थियो । उनले बाइकाई रोकेर चाबी खोसे । आवश्यक कागजात चेक गरे कागजात दुरुस्त थियो।
कागजात ठिक हुँदाहुँदै किन चाबी खोसेको भनेर बाइकवाला निहुँ खोज्न थाल्यो ।
“तेज गति जीवन क्षति भन्ने थाह छैन ? उ त्यहाँ सिग्नल पोष्टमा गति सीमित लेखेको देख्नु भएन ?” ट्राफिक प्रहरीले भने ।
विवाद बढदै गयो । अलि पर रहेका ट्राफिक इन्सपेक्टर आइपुगे। उनले बाइकवाला युवालाई चिनेर ‘ मेरो मन्छे हो ‘ भनेर छाडिदिन आदेश दिए।
“तर सर … ! नियम त सबैलाई बराबर लागु हुन्छ ।”
“मैले भने पछि छाडिदेन ” इन्सपेक्टरले रुखो आदेश दिएर बाटो लागे ।
आदेशको पालना भयो । बाइकवाला आफ्नै गतिमा हुँइकियो ।
साँझपख डिउटी सकेर प्रहरी हवल्दार आफ्नो कार्यालय पुग्दा इन्सपेक्टर साहेब कतै जाने तरखर गर्दै थिए ।” कताको सवारी हो सर ? उनले भने ।
“लाश सनाखत गर्न जानु पर्ने भयो।”
“कहाँ के भयो र सर ?” प्रहरी हवल्दार चकित भए।
“त्यही अघिको बाइकवालाको ‘ स्पट डेथ ‘ भएछ । ”
ला…! मैले त रोक्न खोजेकै हो नि , सर ले नै…!
भो भो अरु शब्द नबोल । म नि:शब्द छु अहिले ।