
घनश्याम रेग्मी
कैयौं भाषा वर र परका भेगमा बोलिनाले
साह्रै गाह्रो घर र परमा भाव बन्दी हुनाले
यस्तो बेला सरल रसिलो भाष्य साझा दिएर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर।
प्यारो भाषा मन र मुटुका भाव नेपाल बोल्ने
साझा भाषा जन मन सबै भेग भाषी समेल्ने
माता सीता जनक रघुका श्री कथा ती दिएर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर।
यो भाषाको अगम महिमा विश्वमा देखिँदै छ
मेची काली सरहद भरी राष्ट्र भाषा सुसेल्छ
यो भाषाको मधुर रसले बन्धु जम्मा गरेर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर।
डाँडा पाखा चउर वनका फाँट बेंसी समेटी
मुर्चुङ्गाका मधुर धुनझंँ फूलका शब्द खेती
नाता गाँस्दै नजिक नजिकै सर्छ बोली भरेर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर।
हाम्रो झन्डा फरफर गरी फर्फराई रहेको
हाम्रो माथा सगरसरिको जो छ अग्लो उठेको
आफ्नै भाषा प्रकृति सुषमा जोड्छ आत्मा बनेर
नेपालीका दिलबिच बसे भानु भाषा बनेर।





