न्यानो टोपी


लक्ष्मी रिजाल

“बाबा, किन अझै पनि त्यो पुरानो टोपी लगाउनुहुन्छ ?”
छोरी राधाले चिया उम्लिरहेको भान्साबाट सोधी।
बाबा हल्कासँग मुस्कुराए, “यसले जाडो मात्र होइन, याद पनि थामेर राखेको छ ।”
टोपी फाटिसकेको थियो, रङ उडिसकेको । तर हरेक बिहान बाबा स्कुल पुर्याउँदा र बेलुका नातिहरू सँग खेल्दा, सधैं त्यही टोपीमा देखिन्थे।
राधा छक्क परिन्- कस्तो मोह होला यस्तो थोत्रो चिजमा?
उसले बाकस खोलिन्- चम्किला नयाँ टोपीहरूको थुप्रो । एक निकालेर बाबालाई लगाइदिइन् र पुरानो टोपी चुपचाप फ्याकिदिइन्।
बाबा झ्यालछेउ बस्दै आँखा रसाउँदै फुसफुसाए, “त्यो टोपी तिम्री आमाले बुनेकी थिइन्, अन्तिम पटक हात समातेर दिएको थियो।”
राधा मौन भइन्- बुझिन्, माया पुरानो नहुने रहेछ, स्मृतिमाथि निर्भर हुँदोरहेछ।