पंक्षी


सुरेशकुमार पाण्डे
दाङ घोराही १८

आज बिहानै आकासबाट मसिनो सिम्सिमे पानी पर्दै थियो। बाहिर निस्कन सारै अल्छी लागिरहेको बेला गाईका बाछा बाच्छीहरू ‘ बाँ गर्दै’ कराए। हामीले सुनेर पनि नसुने झैँ गर्यौं।
“बाबु बाच्छा बाच्छीहरू भोकाए होलान् कराउँदै छन् ।” कुनामा बसेकी आमाले मतिर पिर्लुक्क हेर्दै भन्नुभयो।
हामीले बिहान उठेदेखि हरिया मकै पोल्दै खाँदै गरेका थियौँ। एउटा – एउटा मकै त अहिले पनि अगेनामा पाक्दै थिए।
“आमा बाहिर पानी परिरहेको छ !” मैले बाहिरतिर हेर्दै आमालाई जानकारी गराएँ।
आमाको काखमा सानो भाइ थियो जो केही दिन पहिले नयाँ सदस्यको रूपमा आएको थियो। त्यसैले आमा रूखमा चढेर घास काट्न सक्नु हुँदैनथ्यो।
अरू गाई गोरूलाई त ओटमा राखेका मकैका नल र पोस्कर खान दिएका थियौँ तर स-साना बाच्छा बाच्छीलाई भने सधैँ बाहिर फोर्सो काटेर वा हरियो कुनै घाँस दिनुपर्दथ्यो।
बाच्छा बाच्छीहरू एककोहोरो कराही रहेका थिए। आँमाको मन कटक्क खायो र फेरी मैतिर हेर्नुभयो।
“छोरा जाउ बाबु बहिनीलाई लगेर एउटा मुठा फोर्सो काटेर उनीहरूको अगाडि राखिदेऊ बिचरा भोकाएकाछन्।” आमाले फेरी म तिर हेरेर आदेश दिनुभयो। मेरो साहिली बहिनी र म देख्दा एकै एकै नासका देखिन्थ्यौँ। ऊ म भन्दा अढाई वर्ष भन्दा पनि बढी कान्छी थिई। “हिंड म रूख चढेर खसाल्छु तैँले सेमलिस्।” मैले मकै खाँदै गरेकी बहिनालाई भने।
ऊ पनि त्यो मकै खाँदै खाँदै मेरो पछिपछि आई।
अग्ला-अग्ला मकैको घारीमा बारिभित्र पसेपछि कसैले पनि देख्दैनन्। पानी उस्तै मसिनो परिनै रहेको थियो। बिहानी छिप्पेको भएपनि अन्धारो देखिन्थ्यो। म फटाफट रूखमा चढें र डाले घांस फोर्सो काट्दै खसाले बहिनाले सेमली। त्यही रूखमा ढुंकुरका बच्चा भुर्र भुर्र गर्दै नसकी नसकी उड्न थाले।
देख्दा कति राम्रा थिए। हाम्रो मनमा पाप जाग्यो। किन कि हामी गर्भै देखि मासु खाँदै आएका थियौँ। “आज यति राम्रो मौका मिल्यो भात मासु खान पाइने भयो। आमा सुत्केरी पनि हुनुहुन्छ। दुईटै ढुकुर काटेर हाम्रो परिवारलाई प्रसस्तै हुन्छ।” मैले मनमनै सोचेँ। आफूले खाँदै आएको सिकार परेवा ढुंकुरको मासु त राम्रै हुन्छ। मैले दुबै ढुकुरका बच्चा च्याप्पै छोपेँ र बहिनीलाई छोपन दिएँ ।
“भाग्न नदिए बलियोगरी छोप नी।” बहिनीलाई चेतवानी दिँदै भने। उनीहरू राम्रोगरि उड्न सक्दैन थिए। मैले घाँसको मुठा बोके र दुबै दाइ र बहिनी खुसिहुँदै घर जान थाल्यौँ।
“आज हाम्रो आमा कति खुसी हुनुहोला होइन दाजी ? ” बहिनीले मतिर हेर्दै भनी। ऊ अत्यान्तै प्रश्न गर्थी म जस्तै।  “पक्कै पनि खुसी हुनुहुनेछ। यस्तो अवस्थामा मासु खानुपर्छ।”- मैले पनि उसको कुरामा आफ्नो बिचार थपें। “बरू हामीले थोरै खाउँला आमालाई भने पेटभरी खान दिनुपर्छ।” बहिनीले भनी। ती ढुकुरका बच्चाहरू टाठा आँखाले हामीतिरै हेर्दै थिए। सिर यता उता हल्लाउँदै जस्तोकि उनीहरूले हाम्रा कुरा बडो ध्यान लगाएर सुनिरहेका थिए।
सायद उनीहरू आपसमा केही भनाभन गर्थे र भाग्ने प्रयास पनि गर्थे तर सक्दैन थिए।
कुरै कुरामा घर पुग्यौँ ।मैले घाँस बाच्छा र बाच्छीलाई दिएँ। उनीहरू भोकाएका थिए। मेरो हातैबाट खोसेर खान थाले।
“आमा यता हेर्नोहोस् त !” आमालाई ढुकुराका बच्चाहरू देखाउँदै भनेँ।
“ए के हो यो ? ” आमाले आश्चार्य हुँदै सोध्नु भयो।” आमा दाजुले बल्ल बल्ल छोपेर ढुकुरका बच्चा ल्याएका छौँ।” बहानीले आमाको नजिक गएर भनी।
“ओहो बिचरा बच्चाहरू ! के गर्छौ यसको?” आमाले सोध्नुभयो। “अहिले काटेर भात मासु खाउँला है।” मैले आमासङ्ग भनेँ र बहिनीको हातबाट दुबै बचेरा छोपेँ।
आमाले आफ्नो काखमा खेलिरहेको भाइतिर पुलुक्क हेर्नुभयो।
“बाबु ! उसको आमा कति रोएकी होली ? जाउ जहाँबाट लिएर आएका हौ, त्यही राखेर आऊ। अब कहिल्यैपनि यस्तो गल्ती नगर्नु ।” आमाले चेतवानी दिँदै भन्नुभयो। हामी एकले अर्काको मुख हरिरह्यौँ।