रमेशचन्द्र घिमिरे
‘हामी सिर्जनशील बन्नुपर्छ । मौलिकतामा जोड दिनुपर्छ। घोकन्ते विद्या ठिक छैन।’ विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा ऊ आफ्नो विचार राख्दै थियो ।
वक्तृत्वकलामा सूक्ति र कवितांशको प्रयोग गर्न पनि जान्नुपर्छ भन्ने उसले बुझेको थियो ।
‘घोकन्ती विद्या, धावन्ती खेती र सेवन्ती राजा’ को उदाहरण दिँदै `घोकन्ती विद्या हाम्रो लागि सजाय हो ।’ घोकेपछि दिनहुँ घोकिरहनुपर्छ । नत्र बिर्सने खतरा हुन्छ । त्यसैले यो खतराबाट बच्ने एक मात्र उपाय हो – मौलिकता ।’ यस्तै के-के बोलेर जनाउ घन्टी नबज्दै चार मिनेटमै उसले कुरा सक्यो ।’
वक्तृत्व कलाको नतिजा आयो । ऊ दोस्रो भएछ । तैपनि ऊ खुसी थिएन ।
घर पुगेर हिजो बेलुकी तयारी गरेको खेस्रा हेरेपछि पछुतो मान्दै उसले बासँग भन्यो, ‘हेर्नुस् त बा, तपाईंले लेख्दिनुभएको यो महत्त्वपूर्ण कुरा नै घोक्न छुटेछ । नत्र मै पहिलो हुन्थेँ ।’