“परिपूरक”


सृजना घिमिरे ढकाल
सितापाइला , काठमाडौं

“कुनै काम गर्ने ढंग छैन, घर कसरी खान्छेस?”
खाना बनाउँदै गरेकी छोरी मनितालाई दिनहुँ आमाले गर्ने गाली सुनेर, उनले जवाफ फर्काइन्—
“घर खाएपछि कहाँ बस्नु हौ ? आमा, धेरै कचकच नगर्नु है।”
“कस्तो घर पर्ने हो, ज्वाइँ कस्तो पाउने होला, सबैलाई सम्हाल्न सक्ने बन्नुपर्छ है, नानी!” आमाको चिन्ता उस्तै थियो।
उनले आमालाई सम्झाउँदै भनिन्—
“आमा, घर म एक्लैले खाने होइन नि! मिलेर दुवै जनाले खान्छौँ, जसरी बुवाले कमाएर ल्याएको पैसाले तपाईंले घर चलाउनु भएको छ।”
“मैले जति दुःख त कसले गर्या छ र यो घरमा! हाम्रो इज्जत राख्नु भनेर बा-आमाले पठाएको दिनदेखि…” फेरि आमाको गन्थन सुरु भयो।
“हो नि, आमा! तपाईंले जस्तो दुःख मैले गर्न नपरोस् भनेर त पढ्दै छु। पढाइ सकेर केही काम गर्छु। दुवै जना मिलेर घर चलाउँछौं।” मनिताले आमालाई सम्झाउने प्रयास गरिन्।
“बोले जस्तो सजिलो कहाँ छ र व्यवहारमा! रामे मामाको छोरीले पनि यही भन्थी। राम्रै जागिर खाएकी थिई। राम्रो घरको जागिरे केटा भनेर बिहे गरिदिएका , तर घरकालाई चित्त बुझाउन सकिन रे! डिभोर्स भयो। बिचरी आज…”
आमाको बोली नसकिँदै छाएको मौनता छिचोल्दै मनिताले भनिन्—
“घर चलाउने कुरा त नारी-पुरुष दुबैको दायित्व हो, एक-अर्काको परिपूरक बनेर !”