पहिलो वैशाख


निमा छिरिङ भोटिया
जलढाका कालेबुङ भारत

बिहानबाट आज छोरीको पाठशाला जाने चहल पहल छैन। छोरीको सुस्तीपन देखेर आमा बिमला बोल्छिन्, “छोरी  आज पाठशाला न जाने हो ? कि आज बिदा छ ?”
आमाको प्रश्नको उत्तर दिँदै छोरी रिया भन्छिन्, “आज हाम्रो बिदा छ।”
“के को बिदा  छोरी ? भन्दै आमाले फेरि छोरीलाई प्रश्न गर्छिन्।
छोरी रिया अन्कनिन्दै भन्छिन् , “खै पहिलो वैशाख भन्दै हुनुहुन्थ्यो।”
“ए छोरी ! तिमीलाई थाहा छैन ? पहिलो वैशाख भनेको “भन्दै आमा बिमलाले छोरीलाई सोधी। “खै नेपाली जातिको नव बर्ष अरे” भन्दै छोरी रियाले भनिन्।
आमा बिमला छक्क पर्दै भनिन् “अनि तिमी चैँ कुन जाति ?”
आमाको यस्तो कुरा सुनेर छोरी बोलिन्, “म नेपाली जाति ।”
“नेपाली जाति भनेर मात्र हुँदैन नि  छोरी ! आफ्नो सँस्कृति रीतिरिवाज परम्परा पनि बुझ्नुपर्छ। यो पहिलो वैशाख भनेको त हामी नेपाली जातिको नयाँ साल हो। जसरी हामीले अंग्रेजी साल पहिलो जनवरी मनाउँछौँ। उसरी नै यो पहिलो वैशाख पनि मनाउनु पर्ने हो। किन भने यसमा हाम्रोपन लुकेको छ। फेरि हामीले यो सबै बुझी राख्नुपर्छ। हामी जाति नेपाली भनेर जति गर्व गर्छौँ । उस्तै हाम्रो हरेक सँस्कृति,रीतिरिवाज र परम्परालाई पनि सिक्नु र बुझ्नुपर्छ। नत्र केही समयपछि हाम्रोपन यसरी नै बिस्तारै बिस्तारै हराएर जाने छ ।” भन्दै छोरी रियालाई आमाले आज पहिलो वैशाखको बारे मज्जाले यसरी नै बुझाई दिइन्।