
रम्भा पौडेल
टिनीनी घण्टी बज्यो । सबै केटाकेटीहरु प्रार्थनामा लाइन लागे।
गीता मिसले पिटी खेलाउनुभयो–गोडा फाट सतर्क । सबै विद्यार्थीलाई आ आफनो लाइन सिधा बनाउँदै मिससँगेै ‘गोडा फाट सतर्क’ गरे । मञ्चबाट सूचना जारी गर्दै हेड मिसले भन्नुभयो — “सबै नानीबाबुहरु ध्यान दिएर सुन। अहिले बर्षाको मौसम हो । हो कि हैन ?” सबैले एक स्वरमा हो भने।
“यतिबेला पानी धेरै पर्छ । बाढी,पहिरो र डुबानको समस्या जाताततै आउँछ, हामी पहाडमा बस्नेहरुले पहिरोको सामना गर्नुपर्छ । त्यसैले हिँड्दा सबै जना सचेत भएर हिँड्ने । आफ्ना भाइ–बैनीलाई पनि सँगै लिएर हिँड । यतिबेला पानी पनि दुषित हुन्छ । बाढीले फोहरमैला बगाएर ल्याउने हुनाले मूलका पानमिा पनि किटाणु मिसिएका हुन्छन् । त्यसैले हामीले पानी उमालेर मात्रै खानु पर्दछ । यदी फोहर पानी खायौ भने झाडा–पखाला, टाइफाईडजस्ता रोगहरुको हामी सिकार बन्दछौँ । अब भोलिदेखि तिमीहरु सबैले आफ्नो घरबाट उमालेको पानी बेतलमा बोकेर आउने है स्कुल आउँदा । हुन्छ कि हुँदैन ?” मिसले प्रश्न गर्नुभयो । सबैले ‘हुन्छ’ भने।
“अब तिमीहरुको प्रथम त्रैमासिक परीक्षा शुरु हुने बेला पनि भयो । परीक्षाका लागि तयारी हुनु ।“ विद्याार्थीहरु परीक्षाको कुराले सतर्क अवस्थामा उभिए।
मिसको सूचना सकिएपछि राष्ट्रियगान शुरु भयो । भोलिदेखि उमालेको पानी आफ्नै घरबाट बोतलमा बोकेर विद्यालय आउने कुरा मनमा बोकेर सबै विद्यार्थी आ– आफनो कक्षा कोठामा लागे । हेड मिस पनि आफनो कक्षतिर लाग्नुभयो।





