पालो


लता के. सी.
तीनकुने , काठमाण्डौँ

“ए , छोरा ! यो मोबाइलमा अङ्ग्रेजीमा लेखेको के हो ?” मैले बुझ्दिनँ , हेर् न ! “कानो गोरुलाई औशीँ न पूर्णे भन्दै बुबा कराए।”
छोराले खै ? भनेर मोबाइले हेर्यो । झर्किदै भन्यो , “नबुझ्ने , नजान्नेले किन बोक्नु परेको त ?”
बुबाले मलीन भएर भने , “समयले मलाई ठग्यो बाबु ! मेरो पालामा अङ्ग्रेजी थिएन , जानिनँ । भोलि तेरो छोराको पालामा नयाँ ज्ञानको खोजी हुन्छ अनि नातिले पनि यसै भन्नेछ , बल्ल थाहा पाउँलास् ।”
“आवश्यकता अनुसारको ज्ञान त सिक्नु पर्छ नि ! को जन्मिदै जान्ने हुन्छ र ?” छोराले तर्क गर्यो । बुबाले विवशता पोख्दै भने , “गधाले पनि क्षमता अनुसारको मात्र भारि बोक्छ , छोरा ! यो कुरा बुझिराख् ।”
छोराले नरम भएर भन्यो , “बुबाले यो मोबाइल , फोन कल लिन र उठाउन मात्र प्रयोग गर्नु नि त ! अङ्ग्रेजी नबुझ्नेले फेसबुकका विभिन्न एप चलाएपछि त समस्या आइरहन्छन् नि !”
बुबाले गम्भीर भएर भने , “हेर् छोरा ! समय र ज्ञान अनन्त छ तर जीवन छोटो छ । समयअनुरुप पुस्ता पुस्ताले ज्ञानको प्रवाह नगरे जीवन कसरी चल्छ र ? “