
चूडामणि नेपाल ‘अकिञ्चन
विराटनगर १
‘घण्टौंदेखि प्रतीक्षामा छु । तीन घण्टा लाइनमा बसेँ । खाना खाएको छैन । भोकले आकुल व्याकुल भएको छु ।’ हाकिमले मनको भाव पोख्यो।
ऊ निरीह देखिन्थ्यो । कसैले उसलाई बोलाएन । घरीघरी याचना भावमा मतिर पुलुक्क हेर्थ्यो । म आफ्नै कार्यमा व्यस्त थिएँ।
‘होइन भाइ, टोकनै पर्खनु पर्ने हो त ?’ मेरो छेउमा आएर अकिञ्चन भावमा हाकिमले मुख खोल्यो । मैले पनि मौका पाएँ । ‘अस्ति हजुरको कार्यालयमा मैले पनि त दिनभरी पर्खिएँ नि । अनि हजुरले त धेरै ठूला मान्छे चिने जानेको हुनु पर्ने होइनर ? हजुर त यत्रो ठूलो मान्छे ।’
‘चिने जानेर पो के गर्नु भाइ! मलाई यहाँको पालो मिच्न मन लागेन । म भन्दा ठूला हाकिमहरु पनि लाइनमै देख्छु।’‘हो नि हेर्नुहोस न कस्तो अचम्म । कोही जन्मेको खुसीमा रमाएका छन् । कोही आफन्तजन गुमाउनु पर्दाको पीडामा तड्पिएका छन् । कोही छटपटिएका छन् । पुनरर्जीवन पाउने पालो पर्खिएर महिनौँ बसेका छन् । कोही अचेत छन्, कोही सचेत भएर पनि अचेत छन् । मैले त यहाँ खुसीभन्दा बढी पीडा देखेको छु । केका लागि पालो मिच्ने ? सबैलाई उस्तै होइन र ? पद प्रतिष्ठा विरामभन्दा ठूलो होइन।’
‘ठीक भन्यौ, पद प्रतिष्ठा केही होइन रहेछ भन्ने आज बल्ल थाहा भयो भाइ । हाकिम बोल्यो । तर प्राथमिकता निर्धारण गरिदिए हुने । बृद्ध–बृद्धा, अपाङ्ग, अशक्त, अनि विरामीको अवस्था हेरेर काम गर्नु पर्ने हो।’
नजिकै कुरा सुनेर बसिरहेका दुई बृद्धहरु जुरुक्क उठे र पुलुक्क हेर्दै बोले । ‘ए हजुर नै होइन अस्ति कार्यालयमा राष्द्रिय परिचयपत्र बनाउँदा हामीलाई पाँचघण्टा उभ्याउने ?’ हाकिम अवाक भयो।





