पिता दर्शन


विनोद प्रसाद ढकाल
इनरुवा, सुनसरी

बिहिवार बिहान, हल्का हावा चलिरहेको थियो । सुर्य उदाउँदै थियो । त्यही बेला गाउँको बाटोमा बिनय र सुरेन्द्रको भेट भयो । दुबै जना बिहानको मर्निङ वाकमा निस्किएका थिए।
“विनय दाइ, आउँदो भाद्र ७ गते बुबाको मुख हेर्ने दिन पो रहेछ, यसको महत्व के रहेछ ?” सुरेन्द्रले उत्सुकतापूर्वक सोध्यो । विनय मुस्कुराए र भन्नथाले “मातृ देवो भव । पितृ देवो भव । गुरु देवो भव।”
अर्थात् माता , पिता , गुरु सबै भगवान हुन् । पर्सि शनिबार बुबाको मुख हेर्ने – दर्शन गर्ने दिन हो। ” यो दिनलाई पितृमुक्ति अमावस्या पनि भनिन्छ । बिहान सबेरै उठेर स्नान गरी आफ्ना बाबुलाई सम्मानपूर्वक मुख देखाउने, मिठा परिकार खुवाउने चलन छ । जसको बुबा हुनुहुन्छ, उहाँलाई कृतज्ञताको प्रतीक स्वरूप सम्मान गर्नुपर्छ।”
“अनि जसका बाबु अब हुनुहन्न भने ?” सुरेन्द्रले फेरि जिज्ञासा प्रकट गर्यो।
थोरै गम्भीर हुँदै विनयले भन्यो, “जसका बाबु स्वर्गीय हुनुहुन्छ, तिनीहरूले तर्पण, श्राद्ध गरेर पिताको आत्माको चिरशान्तिको कामना गर्छन् । म आफैँ त यही वर्गमा पर्छु, सुरेन्द्र । मेरा आमा–बुबा दुबै हुनुहुन्न । त्यसैले यो दिनमा म उहाँहरूको सम्झना गर्दै पूजा गर्ने गर्छु ।”
सुरेन्द्रको मन छुन पुग्यो । “दाइ, तपाईँ त साँच्चिकै भाग्यशाली हुनुहुन्छ, किनकि तपाईँले आमा–बुबासँग बाँच्दासम्मको स्नेह अनुभव गर्नुभयो । मेरो बुबा घरमै हुनुहुन्छ, यो सुनेर मलाई अझ जिम्मेवारी महशुस भयो। उहाँलाई खुसी राख्नैपर्छ भन्ने लाग्यो।”
विनयले उसको काँधमा हात राख्दै भने, “ठीक भन्यौ, बाबु जीवित रहँदा सेवा गर्नु नै सच्चा धर्म हो । पछि सम्झेर पछुताउनुभन्दा अहिले नै उहाँलाई प्रेम र आदर देखाउन सक्नुपर्छ।”
यति भनेर दुबै घर फर्किने बाटो लागे । गाउँको चौतारो नजिक पुग्दा सुरेन्द्रले विनयलाई नमस्कार भन्दै बिदा माग्यो। विनयले हाँस्दै भने “यो वर्ष तिम्रो बाबुलाई अझै धेरै माया देऊ, यही नै ठूलो पुजा हो ।”