
निमा छिरिङ भोटिया
जलढका कालेबुङ, भारत
एउटा सुन्दर बगैँचामा धेरै प्रकारका फूलहरू ढकमक्क फुलेका छन्। विभिन्न रंगीचंगी पखेटाहरू फर्फराउँदै सुन्दर सुन्दर पुतलीहरू फूलहरूमाथि नाचिरहेको छन्।
यस्तैमा एक कुनामा एउटा फूल आँखाभरी आँशु पारिरहेकी एउटी सानी सुन्दरी पुतलीले देख्छे।
उ सिधैँ त्यो फूलको नजिकै पुगेर आफ्नो मीठो स्वरमा फूललाई सोध्छे “हजुरले किन यसरी आँखाभरी आँशु बनाई रहनुभएको ?”
ती सानी सुन्दरी पुतलीलाई हेर्दै उ बोल्छे, “नानु, अब केही दिनमा मलाई पनि यस बगैँचाको मालिकको प्यारी छोरी आएर मलाई टिपेर लान्छे।”
त्यो सानो सुन्दरी पुतली छक्कै पर्दै भन्छे ,”किन हजुरलाई यसरी टिपेर लगेको ?”
“नानु , यो संसारमा सुन्दर हुनु पनि एउटा सराप हो। हामी सुन्दर बनेर फूल्छौँ। हाम्रो सुन्दरता उनीहरूलाई मन परेपछि हाम्रो दुःख नसम्झी हामीलाई टिपेर घरमा लगेर उनीहरूले सजाउ कोठामा राख्छन्। त्यो बेला हामीलाई कति पीडा हुन्छ। तर उनीहरू भने हामीलाई यसरी राखेर आफूहरू आनन्द मान्छन्। यस्तै छ यी मान्छेहरूको जात” भन्दै उ आफ्नो दुःख पोख्छे।
फूलको यस्तो दुःखलाग्दो कुराले सानो सुन्दर पुतलीको पनि आँखाभरी आँशु आउँछ अनि उ पनि दुःखी बन्दै भन्छे, “कति निष्ठुरी हुँदारहेछ नि यी मान्छेहरूको जात !”
“हो नि बाबु, तिमी पनि छिटो छिटो यहाँबाट गईहाल नत्र तिमीहरूलाई पनि मन पराउनेहरू आएर समातेर उनीहरूको घरमा सजाउन लान्छन ” भन्दै उसलाई पनि फूलले सतर्क गराउँछे ।
फूलबाट यस्तो कुरा सुनेर सानो सुन्दर पुतली अतालिएर छिटो छिटो उड्दै त्यो बगैँचाबाट टाढा जान्छे।





