
रम्भा पौडेल
“ए बा ! हामी कुन बाटो जाने हो र ?” छोराले प्रश्न गर्यो ।
“हल हल, नकराउ न । जुन बाटो गएपनि तिमीलाई घरमै पुरयाउछु नी । किन चिन्ता गरेको ।”
“होइन बा, जहिले पनि हामीले बाटो रोज्दा सुरक्षित बाटो रोज्नु पर्छ नि, बरु ढिलै पुगौँ । छिटो पुग्ने नाममा बाघ भालु लाग्ने बाटोबाट नजाउँ है । मलाई डर लाग्छ ।”
बाबु छोराको कुराकानी जारी रह्यो।
“मजस्तो बहादुर बाउको छोरोले त्यस्तो भन्न सुहाउँदैन बाबु ! म त बीर गोर्खालीको छोरो हुँ । तिमी नातीपुस्ता हौ । बीर गोर्खाली कसैसंग डराउदैनन् भन्ने थाहा छैन तिमीलाई ?”
“थाहा त छ नि । मेरो सामाजिक विषयमा लेखेको छ नि । पढेको छु कक्षामा । छोराले जवाफ दियो ।
“के पढेको छ तिमीले बीर गोर्खालीको बारेमा ? गोर्खाली लडाकु र हिँसा गर्ने हुन्छन् भन्ने पढेका छौ कि ?”
“होइन बाबा, त्यस्तो । गोर्खाली शान्ति चाहन्छन तर वीर हुन्छन भन्ने पढेको । त्यसैले त हामीले लिएको बाटो सिद्धार्थ गौतमको थियो ।”
“तिमीले भनेर भएन क्यारे, देखिनु पर्यो नि !”ब्यवहारमा । बाबुले भन्दैजानु भो “म तिमीलाई आज पृथ्वी पथबाट लैजान चाहान्छु । मान्छौ त ? यो बाटो हिँडदा कसैलाई पनि अन्याय गर्न मिल्दैन । तिमीले भ्रष्ट्राचार गर्न पाउँदैनौ। आफूमात्र मोटाउने होइन जनता पनि मोटा हुनु पर्छ । आफ्नो देशको जमिनलाई बाँंझो राख्न पाइँदैन । तर खेत खन्न सबैले छोडिसकेका छन् । आफ्नो देशको विकास आफैँले गर्नुपर्दछ । सबै भाषा, धर्म,संस्कृतिको सम्मान गर्दै देशलाई एउटै फुलबारी बनाउन सक्नुपर्छ ।” बाबा बोलिरहनुभयो।
“देशका खानी खनेर उद्योग खोल्नु पर्छ । अहिले त देशका उद्योग सबै बन्द भैसके, तिनलाई फेरी खोल्नु पर्छ । हामी सबैले देशभित्रैको कपडा प्रयोग गर्नु पर्छ । अहिले त सबेैले विदेशका सुकिला कपडा लगाउने भएका छन् । कपडा बुन्न जान्ने सबैले देश छाडिसके । पूर्व —पश्चिम उत्तर— दक्षिणतिर अलि चनाखा आँखाले हेर्नुपर्दछ । तर अहिले सबैका आँखा बन्द भएका छन् । प्रजातन्त्रको रक्षा तिमी आफैँले गर्नुपर्दछ। राजी छौ त ? यति काम गर्न र यो बाटो हिड्न ?” बाबाले सोध्नुभो।
“बाउबाजे हिँडेको बाटोमा छोरा–नातिलाई हिड्न के गाह्रो हुन्छ र ? मेरो माग यत्ति हो कि हाम्रो पुस्ताको पनि ख्याल गर्दै नयाँं बाटो हिँडौँ भनेको मात्र हो ।”छोराले भन्यो। “त्यसो भए हामी पृथ्वी पथबाट पोखरा पुगौँ अनि सिद्धार्थ पथ समाउँदै टावर चढेर जनताको चुलो बलेको हेरौँला ।” छोराको कुरा सुनेर बा मुसुक्क मुस्कुराउनुभो।





