प्रतिशत


सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

सूचनासञ्जालमा परिणाम निस्क्यो। दिदीभाइ मोबाइल हेर्दै खुसी भए। भाइ त उत्साहित भएर नाच्न,गाउन थाल्यो।तत्क्षणै भान्सा कोठाबाट बाबु कराए -“तिमीहरुलाइ के भो हँ ?”
दुबै दौडेर गए। छोरोले बाबुलाई अँगाले। छोरीले ढोग गर्दै भनिन् -“बाबा हामी दुबै पास भयौँ!”
बाबुको आँखा रसाए। दुबैलाई अँगाल्दै भने -“राम्रो गरेछौ,आशीर्वाद छ।”
“अब शहरमा पढिने भो!” छोरोले उत्साह व्यक्त गर्यो।
एकाएक बाबुको अनुहार मलिन भयो। उनले लामो सुस्केरा छाड्दै भने – “अब तिमीहरू जुम्ल्याहाको पनि छुट्टने दिन आयो!”
“कसरी बाबा?” छोरीले अचम्मित हुँदै सोधिन्।
“मेरोमा दुबैलाई पढाउने हुतीकार छैन!” भन्दै टाउको भित्तोपट्टि फर्काए।
दिदीभाइ मुखामुख गरे। वातावरण चकमन्न भयो। केहीक्षण घोरिएपछि दिदीले भनिन् -“भाइले पढोस्,ऊ मर्द हो,पढ्न जरुरी छ!”
भाइले फलाफल हेर्दै भने-“मेरो भन्दा दिदीको प्रतिशत धेरै छ,त्यसैले दिदीले पढोस्!”