
लक्ष्मी रिजाल
रूपनगर, सप्तरी
“तँ चुप लाग्, धेरै कराउने मुखले नै गाउँ डुबायो !”
विद्यालय जाँदै गरेको रोहन एकाएक यस्ता कुरा सुनेर रोकियो । चिया पसल अगाडि मानिसहरूले निकालेका नानाथरीका शब्दहरू एकापसमा ढुङ्गाझैँ ठोक्किरहेका थिए । टेबलभरि अखबार छरिएका थिए । रेडियो कराइरहेको थियो । केही मानिस देश बनाउने कुरा गर्दै थिए । तर कुनाको बेन्चमा बसेका हजुरबुबा भने चुपचाप चिया सुरुप्प पारिरहेका थिए।
रोहनले नजिकिएर सोध्यो, “हजुरबुबा, सबै किन यति ठूलो स्वरमा बोलिरहेका छन् ?”
हजुरबुबाले बाहिर कालो बादलतिर हेरे । हल्का मुस्कुराए।
“बाबु, धेरै गर्जिने बादलले प्रायः पानी बर्साउँदैन।”
त्यो वाक्य रोहनको मनमा बिजुलीझैँ चम्किरह्यो।
छेउकै विद्यालय परिशरमा पुगेपछि सरले सबैलाई बगैँचा सफा गर्न लगाए । साथीहरू गफमै हराए । कसैले मोबाइलको चर्चा गर्यो । कसैले नेता बन्ने सपना सुनायो । कसैले आफू सबैभन्दा चलाख भएको फुइँ लगायो।
रोहन भने चुपचाप झार उखेलिरह्यो । उसका साना हात माटोले कालिँदै गए । निधारमा पसिनाका थोपा टल्किन थाले । उसले केही बोलेन। तर उसले काम गरेको बगैँचाले बोल्न थाल्यो।
केही बेरपछि प्रधानाध्यापक आए। सफा बगैँचा हेरेर उनी रोकिए। वरिपरि शान्ति छायो।
उनले बिस्तारै भने, “आज फूल कसले फुलायो, थाहा भयो।”
रोहनले आकाशतिर हेर्यो । बाहिर बादल अझै गर्जिरहेको थियो । तर भुइँमा एउटा सानो फूल नि:शब्द मुस्कुराइरहेको थियो।





