
तुलसी पण्डित
गुरुपूर्णिमाको दिन हातभरी सुन्तला मिठाई बोकेको छोराले आमालाई दिदै भन्यो , हजुर नै हो मेरो गुरु।
आमा दङ्गदास परिन् । आफ्नो स्कूलमा पढाउने गुरुहरुलाई न सम्झेर किन यसले मलाई गुरु मान्दै मिठाई दियो।
“बाबु तिमी भ्रममा परिछौँ । तिम्रा वास्तविक गुरु स्कूलमा पढाउने रत्ने ,चिनकाजी ,नरे र बसन्ते हुन् । जसले तिमीलाई ज्ञान दिएर यो अवस्थामा ल्याएँ।
“आमा तपाईँ सरासर झूट बोल्दै हुनुहुन्छ। मलाई बाबा ,आमा, अङ्कल ,हजुरबा र हजुरआमा भन्न कसले सिकायो?”
“बाबु त्यो त आफ्सेआफ् जानिने कुरा हो।”
“आमा जब बाबुआमाले कुनै पनि शव्द उच्चारण गर्छन् तब बच्चाले त्यो शव्दलाई टिप्छन् । यदि तपाईले ती शव्द उच्चारण न गरेको भए हामीले कसरी सिक्थ्यौँ ?”
“तिमी जति घमण्ड गर म यो कुरा मान्न तयार छैन । यो त प्रकृतिको देन हो।”
“कसरी प्रकृति देन भन्यौँ । प्रकृतिले बढाउछ तर सक्षम बनाउदैन।”
“त्यस्तो के देख्यौ र बाबु हामी गुरु हुने लक्षण ?”
“आमा तपाँले हामीलाई बोल्न सिकाउनु भयो । हाम्रो आचरणमा सुधार गर्नु भयो।”
अनि अरु ?
“त्यस्तै दिसापिसाब ठिक ठाउँमा गर्ने बानि बसाली दिनु भयो । आफू भन्दा ठूलालाई आदर गर्ने सानालाई माया गर्ने । समाज सँग घुलमिल गराउनमा तपाईको महत्वपूर्ण योगदान छ।”
“त्यसो भए स्कूलमा पढाउने गुरु गुरु होइनन् त बाबु ?”
हुन् आमा तर प्रथम गुरु चाहीँ हजुर नै भएर मैले हातभरी सुन्तला मिठाई दिएको नि त ।”





