फ्रिजको चिसोले बिर्सायो ठेकीको अमृत: नेपाली भान्साबाट मोही किन हरायो ?


रमेश गनेजु श्रेष्ठ

काठमाडौं, कुनै बेला थियो, जब नेपाली घरको बिहानी ठेकीमा मदानी घुमाएको घुर्र… घुर्र… आवाजसँगै सुरु हुन्थ्यो। घरमा आएका पाहुनालाई स्वागतमा चिसो पानी होइन, एक अम्खोरा मोही दिइन्थ्यो। गर्मीको दिउँसोमा कामबाट फर्केर आउँदा घाँटी भिजाउने सर्वोत्तम पेय नै मोही हुन्थ्यो। तर, आधुनिकताको हावा र बजारको चमकदमकले हाम्रो यो मौलिक अमृतलाई यसरी ओझेलमा पारिदियो कि आज हामी आफ्नै परम्पराको फाइदा बिर्सिएर अन्य पेयको सहारा लिन थालेका छौं। दही, मोही मन नपराउने सायदै कुनै नेपाली होला। तर, मन पराउनु र नियमित सेवन गर्नुमा आज ठूलो खाडल देखिएको छ। हाम्रो भान्सामा सधैं रहने मोहीलाई विस्थापित गर्दै रंगीन बोतलमा बन्द गुलिया र हानिकारक पेय पदार्थले डेरा जमाएका छन्। प्रश्न उठ्छ- स्वास्थ्यका लागि यति फाइदाजनक, पचाउन सहज र शरीरलाई शीतल बनाउने मोहीलाई हामीले किन छाड्यौं ? आधुनिकताको होडमा छुट्यो परम्परा गाउँबाट सहर पस्ने क्रमसँगै हाम्रो जीवनशैली बदलियो। ठेकी र मदानी घरको कुनामा थन्किए। समयको अभाव र बजारको सहजताले हामीलाई परम्परागत खानेकुरा बनाउने झन्झटबाट टाढा लग्यो। बजारमा आकर्षक विज्ञापनसहित आएका विदेशी ‘कोल्ड ड्रिंक्स’ र ‘सफ्ट ड्रिंक्स’ प्रतिष्ठाको विषय बन्न थाले। पाहुनालाई मोही दिनु ‘गाउँले’ व्यवहार र फ्रिजबाट निकालेर चिसो पेय दिनु ‘आधुनिक’ मानिने गलत सामाजिक मनोविज्ञानको विकास भयो। यही देखासिकीको संस्कृतिले हामीलाई हाम्रो स्वास्थ्यको खानीबाट टाढा पुर्यायो। हामीले बिर्सियौं कि मोहीमा पाइने प्रोबायोटिक (मित्र जीवाणु) ले हाम्रो पाचन प्रणालीलाई दुरुस्त राख्छ। यसमा भएको क्याल्सियमले हड्डी बलियो बनाउँछ र यसले दिने शीतलता अतुलनीय छ। मोहीले भोक जगाउँछ, कब्जियत हटाउँछ, रक्तचाप नियन्त्रण गर्छ र शरीरमा पानीको कमी हुन दिँदैन। यी सबै फाइदा थाहा हुँदाहुँदै पनि हामीले क्षणिक सन्तुष्टिका लागि अस्वस्थकर विकल्प रोज्यौं। गुमेको स्वादको पुनरागमन सुखद कुरा के छ भने, पछिल्लो समय मानिसहरु स्वास्थ्यप्रति सचेत हुन थालेका छन्। बजारका गुलिया पेय पदार्थले निम्त्याउने रोगबारे चेतना फैलिँदै गर्दा मानिसहरु पुनः आफ्नै मौलिक स्वादमा फर्कन थालेका छन्। हिजोआज ठूला पार्टी र समारोहमा समेत मोहीलाई स्वागत पेयको रूपमा देखिन थालेको छ। यो बदलिँदो परिवेशलाई बुझेर विभिन्न कम्पनीहरुले पनि आकर्षक बोतल र प्याकेटमा मोही बजारमा ल्याएका छन्। यसले सहरमा बस्ने र समयको अभाव भएकाहरुलाई पनि मोहीको स्वाद लिन सहज बनाएको छ। ठेकीमा मथेको जस्तो स्वाद नभए पनि यसले हाम्रो परम्परालाई नयाँ पुस्तासम्म जीवित राख्न मद्दत गरेको छ। आफ्नै घरको अमृतलाई बेवास्ता गरेर हामीले लामो समयसम्म स्वास्थ्यसँग खेलवाड गर्यौं। अब समय आएको छ, फ्रिजमा राखिएका हानिकारक पेयलाई हटाएर आफ्नो भान्सामा फेरि मोहीको स्वाद फर्काउने। यो केवल एक पेयको पुनरागमन होइन, यो हाम्रो स्वस्थ परम्परा र संस्कृतिप्रतिको सम्मानको पुनर्जागरण पनि हो। आशा गरौं, ठेकीको यो अमृतले अब हरेक नेपालीको भान्सामा आफ्नो गुमेको स्थान फेरि प्राप्त गर्नेछ।